न्यूज टुडे
राजविराज, २२ असोज ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले वडा तहसम्म संगठन विस्तार अभियान संचालन गर्ने भएको छ ।
जसपा जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजमा सोमबार आयोजित एक समारोहका विच जसपा केन्द्रिय कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले संगठन विस्तार अभियानको उद्घाटन गरेका हुन् ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको विचार सिधाान्त र अवधारणा बारे जनजागरण गराउन अभियानलाई तल्लो तहसम्म लिएर जान आग्रह गरे ।
पार्टीको कठोर संघर्षबाट पहिचान ,संघीयता, समाबेशितासहितको उपलब्धिको कारण जनताले प्राप्त हक अधिकार बारे जनतालाई बुझाउनु आबश्यक छ, उनले भने, जवसम्म जसपा मेरो लागि स्थापना भएको पार्टी भन्ने अनुभुति जनताले गर्दैन निरन्तर अभियान जारी राख्नुपर्छ ।

कार्यबाहक अध्यक्ष श्रेष्ठले संघीयता र परिवर्तन विरोधीहरुले चौतर्फी रुपमा जसपालाई घेरावन्दी गरेको आरोप लगाए ।
उनले भ्रष्टाचारको कुनै धर्म, लिंग, जात र पार्टी नहुने भएकोले संलग्नता पुष्टि भए कारबाही गर्नुपर्नेमा जोड दिए ।

संघीयता र विकास विरोधीहरु जसपाको नेताकार्यकर्तालाई बदनाम गर्ने खेलमा लागेको चर्चा गर्दै उनले पार्टी नेताकार्यकर्तालाई सचेत पुर्वक संघीयताको मर्म र भावना अनुसार कामकारबाही अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् पुर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रबक्ता मनिष सुमन, केन्द्रिय कार्यकारिणी समिती सदस्य एवम प्रतिनिधि सभा सदस्य नवलकिशोर साहलगायतकाले मन्तव्य व्यक्त गर्दै अभियान सफलताको शुभकामना व्यक्त गरे ।
जसपा सप्तरीका उपसचिव शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत अर्का उपसचिव निलेश कुमार झाले गरे ।

कार्यक्रममा जसपाका जिल्ला अन्तर्गतका केन्द्रिय पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, क्षेत्रीय पदाधिकारी, पालिकाका अध्यक्ष ,वडा अध्यक्ष, तिनै तहका निर्वाचित तथा उम्मेदवार प्रतिनिधिसभा, प्रदेशसभा , पालिका प्रमुख उपप्रमुख,वडा अध्यक्षहरु तथा पार्टीका वडा अध्यक्षहरु, भातृ संगठनका केन्द्र तथा जिल्ला स्तरीय पदाधिकारीहरु को सहभागीता रहेको थियो ।
अभियान अन्तर्गत छ्ठ अगाडि वडा स्तरसम्म संगठन विस्तार अभियान संचालन गरिसक्ने कार्ययोजना रहेको जसपा सप्तरीका उपाध्यक्ष हरेराम यादवले जानकारी दिए ।