राजकुमार साह
कञ्चनपुर ,२२ असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका स्थानीय सेवाका कर्मचारीहरुले प्रशासनिक संघियताको पुर्ण कार्यान्वयन आधार र तीन तहकै कर्मचारीहरुको समान अधिकार भन्ने मुल नाराका साथ विभिन्न माग राखी अनिश्चित कालिन पेन डाउन गरेका छन् ।
स्थानीय तह कर्मचारी संघर्ष समितिले देशैभरी पालिका र केन्द्रिय स्तरमा जारी आन्दोलनलाई ऐक्यबध्ता जनाउँदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेलाई सोमबार ज्ञापनपत्र बुझाउदै पेन डाउनको घोषणा गरेको हो ।
पालिकाका कर्मचारीहरुले नगर स्तरीय संघर्ष समिती गठन गरेर केन्द्रिय संघर्ष समितिले तय गरेको तालिका अनुसार अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने गरि अनिश्चित कालिन रुपमा पेन डाउनमा उत्रिएको उल्लेख छ ।
संघिय सरकार मन्त्री परिषदको बैठकले संघिय निजामती सेवा विधेयक २०८० पारित गरि संघिय संसदमा पेश गर्ने निर्णय गरेकोले उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुले सेवा सुरक्षा ,वृत्ति विकास लगायतका विषयमा स्पष्टता नभएकोले अनिश्चितकालिन पेन डाउन गरेको कर्मचारी संघर्ष समितिका सदस्य हरेराम कार्कीले बताए । कन्चनरुप नगरपालिकामा कार्यरत कर्मचारीहरुले शशिकान्त चौधरीको नेतृत्वमा १६ सदस्यीय संघर्ष समिति चयन गरि आन्दोलनमा उत्रिएका छन् ।

यसैगरी राजविराज नगरपालिकाका कर्मचारीहरु समेत विरोध कार्यक्रममा उत्रिएका छन् । कार्यबाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाउदै कर्मचारीहरु पेन डाउन सहितको संघर्षमा उत्रिएको एक कर्मकारीले जानकारी दिए ।