• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कार्यबाहक अध्यक्ष श्रेष्ठद्वारा कार्यालय उद्घाटन 

कार्यबाहक अध्यक्ष श्रेष्ठद्वारा कार्यालय उद्घाटन 
न्यूज टुडे
राजविराज, २२ असोज ।
जनता समाजवादी पार्टी नेपालका कार्यबाहक अध्यक्ष एवम् पुर्व सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादी पार्टी सप्तरीको कार्यालय उद्घाटन गरेका छन् । राजविराज नगरपालिका ३ स्थित शिवशंकर हलको सामुन्ने रहेको पार्टी कार्यालय सोमबार उद्घाटन गरेका हुन् ।
पार्टी कार्यालय उद्घाटन गर्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले संघीयतासहितको शासन व्यवस्था स्थापना गर्न जसपाले खेलेको भुमिकाको चर्चा गरे ।
मधेश बिद्रोहसहितको विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त अधिकार सुनिश्चितताको लागि थप संघर्ष  गर्नुपर्नेमा जोड दिदै उनले परिवर्तनको रक्षाका लागि संगठन सशक्त बनाउन आग्रह गरे ।
गौर घटना माओवादी पिडितहरुको प्रतिक्रिया रहेको बताउदै उनले उक्त घटनामा जसपाको कुनै संलग्नता नरहेको स्पष्ट पारे ।
गौर घटनाको विषय समेतलाई लिएर तत्कालीन संयुक्त मधेशी मोर्चा र सरकार विच शान्ति सम्झौता भएको उल्लेख गर्दै उनले सहमति उल्टाउने प्रयास गरिए देश ठूलो दुर्घटना फँस्ने दाबी गरे ।
राजनीतिक सहमति उल्टाउने कल्पनासम्म गर्नु हुँदैन, उनले भने, कुनैपनि पार्टी विद्रोह नगरी स्थापना भएकै छैन । यसरी नै उल्टाउदै जाने हो भने, एमालेको झापा काण्ड, माओवादीको रोल्पा विद्रोह सबै उल्टिन्छ, यसले द्वन्दको विजारोपण मात्र गर्छ ।
कार्यालय उद्वघाटन समारोहमा जसपा केन्द्रिय कार्यकारिणी समिती सदस्य एवम् मधेश प्रदेश इन्चार्ज मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रबक्ता मनिष सुमन,जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद नवलकिशोर साह, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, प्रदेश मुख्यसचिव दिनेश कुमार यादव, सचिब शैलेश कुमार साहसहित प्रदेश सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैगरी जसपा जिल्ला अध्यक्ष केदारप्रसाद यादवसहित पदाधिकारीहरु, प्रेस मन्च नेपालका महासचिव अबधेश कुमार झा, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रावण कुमार देव,  प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण सिंह लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यस अघि राजविराज नगरपालिका वडा नम्बर ४ पोखरेल टोलमा रहेको पार्टी कार्यालय वडा नम्बर ३ स्थित शिवशंकर हल अगाडि सारिएको जसपा जिल्ला सचिब हरेराम यादवले जानकारी दिए ।