• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मुलुकमा राजनीतिक परिवर्तन आए पनि जनताको जीवनस्तरमा भने त्यसले परिवर्तन ल्याउन नसकेको भन्दै असन्तुष्टी व्यक्त गर्नेहरुको कमी छैन । परिवर्तनकालागि संघर्ष गरेका पार्टीबाट नै मुलुकको सत्ता चलिरहेको छ ।

तर राजनीतिमा बढ्दो विकृति तथा बेथितिका कारणले गर्दा दलका नेताहरु एकापसको रस्साकस्सीमै बढी केन्द्रीत भएका कारणले जनताले परिवर्तनको प्रत्याभूति पाउन नसकेको भनि गुनासो उठ्न थालेको हो । परिवर्तनले जनताको जीवन स्तर उकास्ने काम गर्न सक्यो भने मात्र त्यसको सार्थकता स्थापित हुने हो । तर बढ्दो भ्रष्टाचार, अनियमितता तथा ढिलासुस्ती जस्ता विकृतिका कारणले मुलुकको आर्थिक अवस्था पनि खस्कँदै गएको छ । मुलुकमा बेरोजगारीको अवस्था कहाली लाग्दो बनेको छ । यही कारणले रोजगारीकालागि विदेशिनेहरुको संख्या पनि दिनानुदिन बढेर नै गएको छ । सरकारले स्वदेशमा नै रोजगारीको व्यवस्था गरिने भनि बताउन छाडेको छैन । तर स्वदेशमा युवा जनशक्ति नै नपाईने अवस्था आएको प्रति चिन्ता व्यक्त गरिँदै छ । राजनीतिक दलहरु आफू सत्तामा पुगे सबै ठीक अनि बाहिरिएको अवस्थामा सबै बेठिक भनि फरक कित्तामा उभिने गरेका छन् । अरुको सबै नराम्रो अनि आफ्नो सबै राम्रो दावीका साथ आआफ्नो मात्र डम्फु बजाउने गरिएका कारण मुलुक तथा जनताका समस्या ओझेलमा पर्ने गरेका छन् ।

साँचो राजनीति गरेको भनि प्रमाणित गर्ने मूल आधार भनेको सरकारले गर्ने राम्रो काम नै हो । तर अहिले दलहरु जसरी एक अर्काको बिरोध तथा आफ्नो बर्चस्व स्थापित गर्ने होडबाजीमा लागेका छन् यसले काम भन्दा पनि तर्कका आधारमा आफूलाई स्वच्छ देखाउने ईलम मात्र भएको भान हुन थालेको छ । जनताका आकांक्षालाई थाँति राखेर आ–आफ्नो स्वार्थमा मात्र लिप्त रहने प्रबृत्तिले जनस्तरमा लोकप्रियता हासिल गर्न नसकिने निश्चित नै छ ।