न्यूज टुडे
राजविराज, २१ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ । जितिया पर्वमा कम सहयोग गरेको भन्दै स्थानीय एक समूहले तालाबन्दी गरेको हो ।
जितिया पर्वमा दुई टोलबासीले छुट्टाछुट्टै कार्यक्रम राखी एक पक्षले बढी सहयोग मागेपछि बराबारी सहयोग गर्ने वडा अध्यक्षले प्रतिबद्धता व्यक्त गरेपछि असन्तुष्ट समुहले तालाबन्दी गरेको स्थानीयले जनाएको छ ।
आफुहरुलाई बढी सहयोग गर्नुपर्ने माग राखी पुर्व टोलबासीले वडा कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष गोसाई चौधरीले बताए ।
जितियामा छुट्टाछुट्टै दुई समुहले कार्यक्रम आयोजना गर्यो, अध्यक्ष चौधरीले भने, पुर्व टोलबासीले बढी सहयोगको अपेक्षा राखे तर मैले दुबै समुहलाई २० हजारको दरले सहयोग गर्छु भनेपछि अनावश्यक वडा कार्यालयमा पुर्व टोलबासीले तालाबन्दी गरे ।
वडा अध्यक्ष चौधरीका अनुसार पुर्व टोलबासी र पिपलटोलबासीले असोज १९ गते जितिया पर्वको अवसरमा बेग्लाबेग्लै शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए ।
माओवादी नेतृत्वका पुर्व टोलबासीले वडा कार्यालयमा सहयोग बढी पाउनुपर्ने माग राखी वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयले जनाएको छ ।
कार्यालय समयमा तालाबन्दी हुँदा वडा कार्यालयको कामकाज पुर्ण रुपले प्रभावित भएको छ ।