अहिले सप्तरीका केही सार्वजनिक स्थलमा सरसफाईको विशेष अभियान नै चलिरहेको छ । केही दिन अघि राजविराज नगरपालिका अगाडिको भगवती मन्दिर पोखरीको सरसफाई गरियो जसमा नगरपालिकाका जनप्रतिधि देखि जिल्ला स्थित सुरक्षा निकायसमेतको सहभागिता रहेको थियो ।
सरसफाईमा सञ्चारकर्मी तथा अन्य संघसंस्थाका व्यक्तित्वहरु समेत सहभागी भएर धेरै हदसम्म उक्त पोखरीको अवस्थामा सुधार ल्याईएको छ । गत शनिबार जिल्लाको प्रसिद्ध धार्मिक स्थलका रुपमा चिनिएको छिन्नमस्ता मन्दिर परिसरको पनि सरसफाई सम्पन्न भएको छ । सरसफाईमा राजविराज नगरपालिका लगायत सुरक्षा निकायका प्रमुख समेतले सहभागिता जनाएका छन् । दशैं आउन लागेको समय पारेर यी दुई स्थलको सरसफाई भएको रुपमा मात्र यसलाई लिनुभन्दा पनि यो कार्यलाई नियमितता दिन सकियो भने यसले जिल्लामा क्रमशः सरसफाईको अभियान विस्तारित भएर जाने अपेक्षा लिन सकिन्छ । सरसफाई एक पटक गरेर मात्र पुग्दैन । सकेसम्म फोहर हुन नदिने तथा भईहाले तुरुन्त सफा गरी हाल्ने परम्परा स्थापित गर्न सकियो भने मात्र सफाईको अवस्थामा दीगो सुधार आउन सक्ने छ । एउटाले सफाई गरे पनि अर्कोले जथाभावी फोहर गर्न थाल्ने हो भने जति घोटिँदा पनि सफाईको स्तरमा सुधार आउन सम्भव हुँदैन ।
तसर्थ सरसफाई कार्यलाई अघि बढाउनाका साथसाथै सार्वजनिक स्थलको सुरक्षा तथा सरसफाईका विषयमा पनि जनस्तरमा बुझाउन जरुरी छ । जथाभावी फोहर गर्नेमाथि जनस्तरबाटै निगरानी बढाउने परम्परा स्थापित हुन सक्यो भने धेरै हदसम्म यो समस्या हल भएर जाने अपेक्षा लिन सकिन्छ । तसर्थ अहिले थालनी भएको अभियानबाट फोहर नगर्ने तथा गर्नेमाथि कडाई गर्ने, बिरोध जनाउने परिपाटी स्थापित गर्न सक्दा नै सरसफाई अभियान पनि परिणाममुखी बनेर जानेछ ।