राजकुमार साह
कञ्चनपुर ,७ असोज ।
सप्तरीको कंचनरुप नगरपालिकासहित जिल्लाको विभिन्न स्थानीय तहमा काजमा खटिएका शिक्षकहरु विद्यालय फिर्ता हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले आइतबार पत्राचार गरेपछि काजमा खटिएका शिक्षकहरु आफू कार्यरत विद्यालय फिर्ता हुने बाटो खुलेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको परिपत्रको आधारमा समन्वय इकाईले ४ महिना पछी पत्राचार गरेपछि विभिन्न स्थानीय तहमा काजमा कार्यरत शिक्षकहरु आ- आफ्नो कार्यक्षेत्रमा जाने बाटो खुलेको एक शिक्षकले बताए ।कञ्चनरुपलगायत दर्जनौं पालिकाका शिक्षा शाखामा काजमा खटिएका शिक्षकहरु विद्यालय फिर्ता जानको लागि आइतबार समन्वय इकाइले पत्राचार गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत जेठ १४ गते ७७ वटै जिल्लाका लागि शिक्षा विकास तथा समन्वय इकाईहरुलाई जिल्लाको स्थानिय तहहरुका शिक्षा शाखामा काजमा खटिएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा फिर्ता गर्न परिपत्र जारी गरेको थियो । उक्त ,परिपत्र अनुसार स्थानिय तहहरुका शिक्षा शाखामा विद्यालयका शिक्षकहरुलाई काजमा राखी सो पद र दरबन्दीको विद्यालयमा सट्टा शिक्षक राखिएको थियो । शाखामा आवश्यक कर्मचारी पदपूर्तिको लागि समेत लोक सेवामा नमाग्ने गरेकोले कतिपय स्थानीय तहहरुमा शिक्षा सेवाका कार्यरत कर्मचारी हुँदाहुँदै शिक्षा शाखामा शिक्षकहरुलाई काजको जिम्मेवारी दिदै शिक्षा सेवाका कार्यरत कर्मचारीहरु सरहकै पदिय अख्तियारि र कार्य विवरणसहित दिने गरेको पत्रमा उल्लेख गरिएको छ । साबिकका स्रोत ब्याक्ती र शिक्षा शाखामा काजमा रहेका शिक्षकहरुलाइ आफ्नो अधिकार रहेको विधालयमा फिर्ता गर्न केन्द्रले गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रशासन शाखा प्रमुख विजय यादवले सप्तरीको १८ स्थानीयतहहरुमध्ये कञ्चनरुप नगरपालिका ,राजबिराज नगरपालिका, सुरुङ्गा नगरपालिका .,खडक नगरपालिका .,शम्भुनाथ नगरपालिका, महादेवा, तिरहुत ,रुपनी ,विष्णुपुर, तिलाठी कोइलाडी र बलानबिहुल गाउँपालिकाका शिक्षा शाखामा काजमा खटिएका शिक्षकहरु अब सम्बन्धित विद्यालयमा फिर्ता हुने बताए ।