• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

न्यूज टुडे
राजविराज, १९ भदौं ।
प्रोत्साहनको चरम अभावका वीच पनि नेपाली क्रिकेट खेलाडीले विश्वका उत्कृष्ट भारतीय तथा पाकिस्तानी क्रिकेट टीमसित यसपालि प्रतिष्पर्धा गर्ने अवसर पाए ।

खेलमा भिडिसकेपछि हार र जीत मध्य एक नै हुने हो । भयो पनि त्यही । कुरा जीतको भन्दा पनि विना प्रोत्साहन अनि लगानीको नेपाली क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय स्तरमा यहाँसम्मको प्रतिष्पर्धामा उत्रन योग्य जसरी भएका छन्, यो चानचुने कुरा चाहिँ पक्कै पनि होईन । सोमबार श्रीलंकामा भारतसित भिडेर नेपाली क्रिकेट टोलीले पराजयकै सामना गर्नु पर्यो । यसका बाबजुद पनि नेपाली टोलीको सर्वत्र प्रशंसा र स्यालुट नै व्यक्त भएको सामाजिक सञ्जालमा अहिले पनि देख्न सकिन्छ । क्रिकेटमा नेपाली खेलाडी योग्य तथा उदीयमान छन् । तर तिनको कुशलता बढाउनकालागि सरकारले चाहिँ आफ्नो जिम्मेवारी के कति पूरा गरेको छ त ? अहम् प्रश्न हो यो । अरु कुरा छोडेर सोमबारकै प्रतिनिधिसभाको बैठकमा, जुन दिन नेपाली क्रिकेट टोली भारतसित भिड्ने तयारीमा थियो,त्यस दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल, राप्रपाका ज्ञानबहादुर शाही, नेकपा (एमाले) का सांसद रघुजी पन्तले उदांगो बनाएको वास्तविकताबाट छर्लंगै हुन्छ ।

सांसद शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई दिने भनिएको १७ लाख रकम पनि नदिएको भन्दै प्रश्न मात्र उठाएनन् । उनले भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले एक वर्षमा २७ करोडको आम्दानी गरिरहँदा नेपाली टोलीका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी नरहेको तथ्यांक समेत प्रस्तुत गरे । उनले नेपाली क्रिकेट खेलाडी भोकभोकै क्रिकेट खेलिरहेको कारुणिक प्रसंग समेत उठाएका छन् । भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने ? उनको प्रश्न छ । सांसद पन्तले प्रधानमन्त्रीले प्रतिबध्दता गरेको चितवनको अलपत्र परेको क्रिकेट रंगशालाको काम पूरा गर्नेतिर चासो नलिएको भन्दै खेलाडीलाई पारिश्रमिक नदिने अनि भारतसितको प्रतिष्पर्धामा छक्कैछक्का हानुन् भन्ने चाहना राखेर त्यो सम्भव होला ? भन्दै सान्दर्भिक प्रश्न उठाउन छुटाएनन् ।

यसैगरी सांसद ढकालले नेपालको खेल क्षेत्र जोगाउने काम कसैले गरेको छ भने त्यो खेलाडी र तिनका अभिभावकको बलबुताले मात्र सम्भव भएको दावी गरेका छन् । विश्वका मुलुकहरुले आफ्ना खेलाडीहरुलाई दिएको सुबिधा तथा नेपाली खेलाडीले पाएको सुबिधाको तुलनाका साथ लाजलाई पनि लाज लाग्दो होला भन्न छुटाएनन् । भैंसेपाटीमा मुख्यमन्त्री सुत्न आलिशान महल बनाउने सरकारले १० वर्षमा एउटा स्टेडियम पनि बनाउन नसकेको तीतो यथार्थ ढकालले प्रस्तुत गरेका छन् । राज्यले दिएको पाँच हजार पनि जोगाएर भोकभोकै बसेर त्यही पाँच हजारको ब्याट किनेको दृष्टान्त समेत उनले प्रस्तुत गर्न भ्याएका छन् ।

सरकारले दिने केवल आश्वासनका भरमा मात्र खेल क्षेत्र उकासिन सक्दैन । आजपर्यन्त जे जति उपलब्धि नेपाली खेल क्षेत्रले हासिल गरेको छ त्यो फगत खेलाडीको समर्पणकै प्रतिफलले मात्र सम्भव भएको मानियो भने त्यो अन्यथा हुने छैन । राज्यले खेलाडीकालागि पनि लगानी गर्न सकेमा नेपालको क्रिकेटको भविष्य उज्ज्वल छ भन्ने कुरा यस पटकको उनीहरुले गरेको प्रस्तुतिले नै प्रमाणित गरेको छ ।