न्यूज टुडे
राजविराज, १७ भदौ ।
सप्तरीको राजगढ गाउँपालिकाले इन्धन खर्चबापत बार्षिक लाखौं सक्ने गरेको पाइएको छ । गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎन २०७५ को नियम ३९ विपरीत इन्धनमा लाखौं सक्ने गरेको खुलासा भएको हो ।
पालिकाले आव २०७८/०७९ मा इन्धनबापत ३५ लाख खर्च गरेको महालेखा परिक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎन २०७५ विपरीत गाउँपालिकाले लाखौंको इन्धन खर्च गरि अनियमितता गरेको महालेखा परिक्षक प्रतिबेदन २०७९ ले ठहर गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎन २०७५ को दफा ३९ अनुसार खर्चको विल भर्पाई सहितको लेखा राख्नु पर्दछ तर पालिकाले पदाधिकारी इन्धन तर्फ रु १५ लाख र इन्धन कार्यालय प्रयोजनमा रु २० लाख गरि ३५ लाख खर्च गरेको देखिन्छ, प्रतिबेदनमा भनिएको छ, पालिकाले सवारी लगबुक (म.ले.प. फा. नं ९०५) मा प्रत्येक सवारी साधनको बेग्लाबेग्लै सवारी लगबुक राखी सबै महल भर्नुपर्नेमा नभर्दा सवारी लगबुकबाट सवारी साधनको इन्धन खपत र गुडेको किलो मीटर बिष्लेषण गर्न सकिएन ।
पालिकाले मापदण्ड विपरीत मनपर्दी इन्धन खर्च गरि अनियमितता गरेको हुँदा खर्चलाई मितव्ययी बनाउन प्रतिबेदनमा आग्रह गरेको छ ।
पालिकाले यसरी इन्धन खर्च लेख्दा खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार बार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरि अभिलेख राखेको पनि छैन, प्रतिबेदनमा भनिएको छ, इन्धन खर्चलाई मितव्ययी बनाउन कोटा निर्धारण गरि लगबुक राखेर मात्र खर्च लेख्ने तर्फ पालिकाको ध्यान जानुपर्ने देखिन्छ ।
सप्तरीका प्रायः सबै पालिकाले मापदण्ड विपरीत खाना, इन्धन, पदाधिकारी सुविधालगायतमा अनियमित रुपले आफुखुशी खर्च गरेको पाइएको छ भने नियमको धज्जी उढाउदै लाखौं भ्रष्टाचार हुँदा समेत नियमनकारी निकाय बेखबर जस्तै देखिएको भनी जनस्तरबाट गुनासो उठ्न थालेको छ ।