• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

केराको थाम सुक्ने समस्या बारे निरीक्षण

केराको थाम सुक्ने समस्या बारे निरीक्षण

न्यूज टुडे
राजविराज, २४ श्रावण ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका १ भलुवाका किसानहरुले लगाएको केरा खेतीमा थाम सुक्ने समस्या देखिएपछि कृषि शाखा प्रमुखले स्थलगत निरीक्षण गरेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाका कृषि शाखा प्रमुख विजय कुमार सिंहले बुधबार केरा बगानको अनुगमन गर्दै स्थानीय किसानहरुसंग भेटेर समस्या बारे जानकारी लिएका हुन ।
रोग प्रभावित केरा बगानमा पुगेका शाखा प्रमुख सिंहले केरामा लागेको रोग नियन्त्रणमा पहल गर्ने बताए । उनले केरामा किराको संक्रमण, ओईलाउने, गानो तथा थाममा किरा लाग्ने, गुवा कुहिने, थोप्ले रोगको प्रकोप देखिएको बताए । रोग नियन्त्रणका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने तथा अन्य विज्ञहरुसंग सहकार्य गरि रोग निदानतर्फ छिटै लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
रोगले केरा खेती मासिने अवस्थामा पुगेको भन्दै सोमबार पीडित किसानहरूले नगरपालिकाको कृषी शाखामा ज्ञापनपत्र बुझाएका थिए । स्थानीय अजय कुमार यादव, धर्मी प्रसाद यादव, विश्वनाथ यादव, सिंहेश्वर यादव, राम अवतार यादवलगायत दर्जनौंको संख्यामा नगरपालिका पुगेका किसानहरुको समूहले कृषि शाखाकी जेटिए सुशिला दाहाललाई ज्ञापनपत्र बुझाउदै रोगको रोकथाम र क्षतिपूर्तिको माग गरेका थिए ।

केरा खेतीमा विभिन्न रोग लागि केराको थाम सुक्ने र मर्ने गरेकाले किसानहरुको अत्यधिक नोक्सान भएको हुँदा कृषि प्रविधिक र विज्ञहरुद्वारा अनुगमन गराई रोकथाम गर्न र क्षतिपूर्तिको व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको थियो ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका १ स्थित भलुवामा दर्जनौं किसानहरूले सयौं विधा क्षेत्रफलमा व्यवसायीक केरा खेती गर्दै आएका छन् ।