• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

ओभरसियर पढेर पनि आकर्षण फलफुल खेतीमा

सुष्माको खेतमा लटरम्म ड्रागन फ्रुट
ओभरसियर पढेर पनि आकर्षण फलफुल खेतीमा

रामनाथ यादव
राजविराज २२ श्रावण ।
ओभरसियर पढेकी एक महिलाले सप्तरीमा पहिलो चोटि ड्रागन फ्रुटको खेती सुरु गरेकी छिन । रुपनी गाउँपालिका ४ लक्ष्मीपुरकी सुष्मा यादवले पहिलो पल्ट गाउँमै ड्रागन फ्रुटको खेती सुरु गरि राम्रो कमाई गर्न सफल भएकी हुन ।

पहिलो पटक आफ्नै लगानी र परिश्रम गरी ड्रागन फ्रुटको खेती सुरुवात गर्दै यसैलाई रोजगारी बनाएको उनको कथन छ ।
सुष्माले ओभरसियर पढेर बाहिर जागिर गरी अरुको अधिनमा काम गर्नु भन्दा आफै रोजगारी सिर्जना गरि काम गर्नु उचित रहेको विचार आएर आफ्नै खेतमा ऋण लिएर ड्रागन फ्रुटको खेती गर्न थालेको बताइन् ।
२०७८ फागुन ७ गते आफनै ११ कठ्ठा जमिनमा १३ लाखको लगानीमा ड्रागन खेती सुरु गरेकी सुषमाले जानकारी गराईन । पति इन्जिनियर देवेन्द्र कुमार यादवसंग सुनसरीको तरहरा पुगि त्यहाँका कृषकसंग भेटघाट, सल्लाह एवम् जानकारी लिई ड्रागन फ्रुटको खेती गर्न मनमा उत्साह जागेपछि भारतको तेलंगनावाट ड्रागन फ्रुटको बिरुवा ल्याएर गाउँमै यसको खेती सुरु गरिको बताइन् । गाउँमा वसोवास भएका कारण नौलो खेती गर्ने इच्छा आयो, उनले भनिन, एक वर्ष पछि विरुवामा फल लाग्न सुरु भयो, अहिले राम्रो आम्दानी भएको छ । ग्रामीण भेगमा यसको खेती गरिएको हुदा प्रचार प्रसार नभएका कारण सस्तो दरमा नै बेच्दापनी आमदानी ठिककठिकै छ, यादवले भनिन्, यो फल गाउँका लागि नयाँ भएका कारण विस्तारै विक्री बढ्दो छ, ग्रहकलाई यसको स्वाद र फाईदाको बारेमा जानकारी होस भन्ने सोचेर तत्काल सस्तोमै बेचिरहेको उनले जानकारी दिईन ।

ड्रागन फ्रुटको फूल देखाउदै यादव । फोटोः न्यूज टुडे

शहरमा प्रती किलो ७ सयमा विक्री हुने भएपनि ३ सय ५० रुपैया किलोको दरले घरमै व्यापारीहरु आएर किन्ने गरेको यादवले वताइन । उनले अरु परम्परागत खेती भन्दा राम्रो आमदानी हुने भएकाले यो खेतीलाई अझै वढाउने सोच बनाएको वताईन । सुरुमा २ हजार बिरुवा भारतवाट र ३ सय बिरुवा सुनसरी तरहरावाट ल्याएर खेतीको प्रारम्भ गरेको जानकारी दिईन । पालिका र वडा कार्यालयवाट केही सहयोग नपाए पनि कृषि ज्ञान केन्द्रवाट ५० प्रतिशत अनुदानमा एउटा मिनी ट्रयाक्टर पाएका छौं, उनले भनिन् , श्रीमानको सहयोगले झनै उत्साहित भएकी छु । उनले बैशाखदेखि अहिलेसम्म चारपटक फल टिपेर विक्री गरिसकेको बताइन् ।

प्रतिमहिना १२ क्निटल सम्म उत्पादन हुने अनुमान यादवले गरिन् । ६ सय पोलमा २ हजार ४ सय बिरुवा लगाएको बताउँदै यादवले २ जना कामदारको सहयोग लिएर समयमा मलखाद र थोपा सिचाइको व्यवस्था गरेपछि अहिले लटरम्ममै फल लागेको जानकारी गराईन ।