न्यूज टुडे
राजविराज, १९ श्रावण ।
सप्तरीसहित तराई मधेशका जिल्लामा बिगत लामो समयदेखि प्रयाप्त वर्षा नहुदा किसानले धान बालि लगाउन पाएको छैन भने लगाएको धानबाली सुक्न थालेको छ ।
किसानले लगाउने मुख्य बालि मध्ये धान बालि सुक्न थालेपछि खडक नगरपालिकामा किसान संघर्ष समितिले ५ बुदे माग राख्दै शुक्रबार नगरप्रमुख जय प्रकाश चौधरी समक्ष ज्ञापन पत्र बुझाएको हो । किसान संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा खडक नगरपालिकालाई तत्काल सुख्खा क्षेत्र घोषणा गरि राहत र क्षतिपूर्ति ,हाल महामारीको रुपमा देखिएको लम्पि स्किन रोगको रोकथाम तथा निदानका लागि भ्याक्सिन सहित प्राविधिक परिचालन गरि पिडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । यसैगरी नगरभरी उन्नत बीउ,सिचाइ तथा मलखादको सरल र सहज उपलव्धता,स्थानीय तहमा कृषि तथा पशु अनुसन्धान प्रयोगशाला, निःशुल्क विधुतिय मिटर र २४ घण्टा विधुतको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
किसान संघर्ष समितिका संयोजक मो. इसराइलको नेतृत्वमा पुगको टोलिले आफुहरुको मागप्रति गम्भीर बन्न आग्रह गरे । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चौधरीले किसानहरुले उठाएको मागप्रती गम्भीर रहेको बताए । उनले किसानहरुको समस्या समाधानका लागि नगरपालिकाबाट हुने सम्पुर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा जसपा खडक नगरपालिकाका अध्यक्ष विनोद चौधरी, खडक नगरपालिका वडा नं.७ का वडाध्यक्ष राकेश कुमार साह लगायत स्थानीय जनप्रतिनिधि र किसानहरुको उपस्थिति रहेको थियो ।