न्यूज टुडे
राजविराज,१२ साउन ।
राजविराज,१२ साउन ।
अतिक्रमण गरी बनाएको संरचना खाली गर्न भनि अड्चालिस घण्टे सूचना जारी गरेको राजविराज नगरपालिकाले शुक्रबारदेखि नगरक्षेत्रमा त्यस्ता संरचना भत्काउन सुरु गरेको छ । सूचना जारी गरेर पनि खाली नगरिएको संरचना स्काभेटर लगाएर भत्काउन सुरु गरिएको हो ।
शुक्रबार वडा नम्बर ७ स्थित हटिया क्षेत्रमा अतिक्रमण गरी बनाएका टहरा तथा अन्य संरचना भत्काउन थालिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् ।
कार्यवाहक नगरप्रमुख इशरत परविन,प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा,एसपी नरेन्द्रकुमार कार्की लगायतको टोलीले हटिया क्षेत्र,सिरहा रोड,अदालत रोडको निरीक्षण गरी अबैध तरिकाले निर्माण गरी अतिक्रमण गरेको संरचना हटाउन तीन दिन पहिले आग्रह गरेका थिए । आग्रहका बाबजुद पनि नहटाएपछि शुक्रबार स्काभेटर लगाएर भत्काउन थालिएको राजविराज नगरपालिकाले जनाएको छ ।

कार्यवाहक नगरप्रमुख परविन, यस अघि पनि तीन पटक सूचना जारी गरी अतिक्रमित स्थान खाली गर्न आग्रह गर्दा पनि अटेर गरेको र अन्तिम पटक खाली गर्ने समय दिँदा पनि खाली नगरिएका कारण बाध्य भई स्काभेटर लगाउनु परेको बताईन् ।
शुक्रबारै विहान हटियावासीका तर्फबाट पत्रकार सम्मेलन गरी हाटबजार संरक्षण संघर्ष समितिका संयोजक मनोजप्रसाद साहले हटियामा सपिंग कम्प्लेक्स निर्माण गर्न भनि नगरपालिकाले वर्षौं अघि सुरु गरेको निर्माण कार्य अहिलेसम्म अधुरो राखेका कारण पहिला त्यसलाई पूरा गरेर मात्र अतिक्रमण हटाउनु पर्ने बताएका थिए ।

सपिंग कम्प्लेक्सको काम अधुरो राखिनाले पूरै हटिया क्षेत्र अस्तव्यस्त बन्न पुगेको अवस्थामा आफूहरुलाई दुःख दिने नियतले नगरपालिकाले यस्तो काम अघि सारेको उनको कथन थियो ।
सरोकारवालासित कुनै समन्वय नै नगरी एक्कासी ४८ घण्टे सूचना जारी गरी नगरपालिका एकपक्षिय रुपमा अघि बढ्न थालेको आरोप लगाएका थिए । त्यसका बाबजुद पनि नगरपालिकाले शुक्रबारै दिउँसोदेखि अतिक्रमण गरी बनाएको संरचना भत्काएको हो ।
कार्यबाहक नगरप्रमुख परविन ३ वटा स्काभेटरसहित कडा सुरक्षा विच हटिया क्षेत्रको अतिक्रमित हटाउन पुगेकी थिईन । हटिया क्षेत्रमा रहेको ८७ बटा अबैध संरचना भत्काईएको उनले जानकारी दिईन । नगरपालिकाको जग्गा अतिक्रमण गरि बनाएको अबैध संरचना हटाउने अभियान जारी रहने कार्यबाहक नगरप्रमुख परविनले बताइन् ।