न्यूज टुडे
राजविराज, ०६ श्रावण ।
केराको बोट सुक्नथालेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवाका किसानहरु निराश भएका छन् । अज्ञात रोग फैलिएर केरा बगानकै स्वाहा भएपछि किसानहरु निराश भएका हुन ।
गुवा पहेलो हुदै बोटै सुक्ने केरामा देखिएको अज्ञात रोगले समस्यामा पारेको किसान सुकदेव यादवले बताए । सुरुमा गुवा पहेलो हुँदै जान्छ, उनले भने, रोगको लक्षण देखापरेको एकदुइहप्ता भित्र केराको बोटै सुकेर खेर जान्छ । उनले केरामा देखिएको अज्ञात रोगको प्रभावले केरा खेती मासिने अवस्थामा पुगेको बताए ।
अर्का किसान महेश राउतले केरामा रोग लागेसंगै उत्पादन घटेको बताए । केरामा लागेको रोग नियन्त्रणमा नआउदा लाखौ लगानी डुब्ने खतरा भएको उनले बताए । किसान बचेन्द्र यादवले रोगले केरा खेती मासिदै गएकोले परिवार पाल्न समस्या भएको बताए । दुई बिघामा केरा खेती लगाएको बताउदै यादवले केरा बगान विस्तारै मासिएकाले परिबार पाल्न धौधौ भएको दुखेसो पोखे ।

किसान बचेन्द्र यादवले केरामा लागेको रोग पत्ता लाग्न नसकेको बताए । उनले नगरपालिकाको प्राबिधिक टोलिलाई समस्या राख्दा समेत सुनुवाइ नभएको गुनासो गरे ।
हनुमाननगर कंकालिनी नगरपालिकाका कृषि शाखा प्रमुख विजय सिंहले केरामा देखिएको रोग विंगाटोका हुन सक्ने बताए । यो रोग ढुसीबाट सर्ने भएकोले हो, उनले भने, यो रोगको संक्रमणले पात पहेलो हुँदै ढन्ने र बोटो सुक्दै जानछ । किसानहरुले व्यक्तिगत रुपमा जानकारी दिएपनि समस्या बारे नगरपालिकामा आधिकारिक रुपमा कोहि नआएको बताए । उनले ल्याव टेष्टद्वारा रोग पत्ता लगाएर उपचार खोज्नु पर्ने बताए ।
उक्त क्षेत्रमा दर्जनौं किसानहरुले व्यवसायीक केरा खेती गरेपनि रोगले उत्पादन घटेर लगानी डुब्नेभएपछि किसानहरु निराश भएको स्थानीय युवा अजय कुमार यादवले बताए । उनले रोग नियन्त्रणमा सरोकारवालाहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।
भलुवामा किसानहरूले बीस विघाबढी क्षेत्रप्mलमा केरा खेती गरेका छन् ।