न्यूज टुडे
राजविराज, २ साउन ।
सप्तरीको महादेवा गाउँपालिका १ पकरीकी एक १३ बर्षिय बालिका तीन दिनदेखि बेपत्ता भएकी छिन । स्थानीय भरत ठाकुरकी छोरी आरोसी ठाकुर आइतबार विहानदेखि बेपत्ता भएकी हुन ।
साथीको घर जाने भनि आइतबार विहान ८ बजे घरबाट निस्किएकी छोरी घर नफर्किएको आमा जानकीदेवी ठाकुरले बताइन् । उनले छोरी तीन दिनदेखि सम्पर्क विहिन रहेको जानकारी दिईन । आफू वैदेशिक रोजगारीको सिलसिलामा कुबेतमा छु, मोबाइलमा घटना बारे सुनाउदै जानकीले भनिन्, घरमा छोरी हराएको खबरले भोकतिर्खा र निन्द्रा हराएको छ, आफ्ना आफन्त भएजती सबैठाँउ खोजी गर्दा कतै फेला परेन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसहित हुलिया दिएर खोजी गर्दा समेत अझै छोरी सम्पर्कमा नआएको उनले बताइन् । उनले छोरीको खोजीमा सहयोग गरि दिन सबैलाई आग्रह गरिन ।
बनिबुतो गरेर परिवार चलाउदै आएको श्रीमानको ३ बर्ष अगाडि मृत्यु भयो, उनले भनिन, परिवारको भरणपोषण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएपछि २ पैसा कमाउने लोभमा विदेशीन बाध्य भएँ ।
उनले घरबाट छोरी बेपत्ता भएको खबरले मर्नु न बाच्नुको अबस्थामा पुर्याएको दुखेसो पोखिन । पति गुमाईसकेकी जानकीको एकमात्र सन्तान हराएपछी उनी चिन्तामा डुबेकी छिन ।