न्यूज टुडे
राजविराज, २७ जेठ ।
मधेश प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले किसानले प्रत्येक्ष लाभ लिन सक्ने योजनालाई प्राथमिकताकोसाथ नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।

प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ जण्डोलमा कृत्रिम गर्भधारणकर्ताहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले दूध उत्पादनलाई वृद्धि गर्न पशुहरुमा नश्ल सुधार गर्नुपर्नेमा जोड दिए । पशु व्यवसायलाई आधुनिकीकरण गरि आर्थिक समृद्धितर्फ अगाडि बड्नुपर्छ, मन्त्री न्यौपानेले भने, दूध उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार आजको आबश्यकता हो, दूध उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार गर्नु जरुरी रहेको उनको भनाइ थियो । मन्त्री न्यौपानेले प्रदेश सरकारले मन्त्रालयलाई नभई किसानलाई फाईदा हुने नीति तथा कार्यक्रम ल्याएको बताए । विपन्न, दलित तथा हरुवाचरुवालाई उन्नत जातका बाख्रा वितरण गर्ने योजना अगाडि बढाएको छु, मन्त्री न्यौपानेले भने, ट्याक्टर तथा भैंसी वितरण योजना खारेज गरिदिएँ, यो कार्यक्रमले साना तथा गरिव किसानको पहुँच नहुँदा गैर किसानले फाईदा लिएरहेकाले योजनाबाट हटाइएको हुँ ।

मन्त्री न्यौपानेले मधेश प्रदेशलाई दुध उत्पादनमा १ नम्बर स्थानमा ल्याउने गरि काम गर्न सहभागीहरुलाई आग्रह गरे । मधेश प्रदेश पशुपालन र दुध उत्पादनमा पछि परेको भन्ने सुन्नु नपरोस, मन्त्री न्यौपाने भने, सबैमिलेर अन्य प्रदेशको तुलनामा एक नम्बर स्थान कसरी ल्याउने भनी सक्रियता बढाउनु जरुरी हुन्छ । उनले पशु विज्ञ तथा पशु कार्याकर्ताहरुलाई किसानको घरदैलोसम्म पुगेर समस्या बुझ्न निर्देशन दिए । प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशका निर्देशक शंकर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डका उपाध्यक्ष शम्भु नारायण साह, आदर्श दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष एवम दुग्ध संघका केन्द्रिय सदस्य दिपेन्द्र आचार्य, अमसोत कृषि सहकारी संस्थाका अध्यक्ष सुमित्रा कुमारी चौधरीलगायतकाले कृत्रिम गर्भधारणको आबश्यकता तथा औचित्यता बारे विचार व्यक्त गरे । मधेश प्रदेशका ८ जिल्लाका भेटनरी तथा पशुसेवा विज्ञकेन्द्रका प्रमुख तथा विज्ञहरु, कृत्रिम गर्भधारणमा काम गर्ने प्राविधिक तथा सहजकर्ताहरु र पशु व्यवसायीहरु सहभागी अभिमुखिकरण कार्यक्रमको सहजीकरण दुग्ध विकास बोर्डका निर्देशक शंकर प्रसाद साह, राष्ट्रिय पशु प्रजनन कार्यालय लाहानका लायभ स्टोक डिभलोमेन्ट अफिसर शिवनाथ महतो र भेटनरी तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका प्रमुख डा. प्रभात झाले गरे । कार्यक्रमको संचालन दुग्ध विकास बोर्ड मधेश प्रदेशका पशुविकास अधिकृत उपेन्द्र कुमार सिंहले गरेका थिए ।