न्यूज टुडे
राजविराज, २५ जेठ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गठित पालिका सुधार सुझाव संघर्ष समितिले विभिन्न पाँच बुंदे माग सहित सुझाव पत्र गाउँपालिकालाई बुझाएको छ ।
संघर्ष समितिका संयोजक अरुण कुमार चौधरी नेतृत्वमा गएका समितिका पदाधिकारीहरुले विहिबार गाउँपालिकालाई सुझाव पत्र बुझाएको हो । गाउँपालिकामा बढ्दो बेतिथी नियन्त्रण गर्नुपर्ने लगायतका विभिन्न मागसहितको सुझाव पत्र गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई उनिहरुले बुझाएका थिए । गाउँपालिकामा व्यवस्थापन तथा सुशासन कायम गर्नुपर्ने, आर्थिक बर्ष २०८०÷८१ को गाउँसभा बृहत रुपमा गर्नुपर्ने, सूचनाको हक प्रत्येक नागरिकको पहँचमा पुग्नुपर्ने लागू औषध कुलत दुर्व्यवासनी नियन्त्रण गर्ने गराउने, शिक्षा, स्वास्थ्य तथा कृषि गुणस्तरीय व्यवस्थापन निरन्तर गर्ने गराउने लगायतका माग समितिको छ ।
सुझाव पत्रमा लागुऔषध न्यूनीकरण गर्न गाउँ टोलमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न सुझाव दिईएको छ । सुझाव पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष चौधरीले समितिले राखेको माग जायज रहेको बताउदै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन ।