• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपन

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपन

न्यूज टुडे
राजविराज, २२ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा वडा नम्बर १ तिलाठी स्थित सरस्वती मन्दिर प्रा·णमा र लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामाकट्टी विद्यालय प्रा·णमा सोमबार वृक्षारोपण गरिएको छ ।

विश्व बाताबरण दिवसको अवसरमा ‘प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाद्वारा दुई ठाउँमा वृक्षारोपण गरिएको हो । यस बर्षको लागि संयुक्त राष्ट्रसंघले ‘सोलुशन टु प्लाष्टिक पोलुशन’ नारा तय गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।उक्त अवसरमा अमला, निम, अशोक, मसला लगायत विभिन्न प्रजातीको विरुवा रोपिएको कार्यक्रम अधिकृत झाले बताए । पछिल्लो एक सातादेखि बढ्दै गएको तापक्रमले जनजीवन प्रभावित बनेको बताउँदै गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले वृक्षारोपणले पर्यावरणमा सहयोग पुग्ने र यसलाई सघन रुपमा अगाडि बढाउने योजना रहेको बताए । उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत, रोशन सिंह, हरिनारायण मण्डल र सत्यनारायण यादवले सहभागिता रहेको थियो । विश्व पर्यावरणप्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि दिन विश्व वातावरण दिवस मनाउन शुरु गरिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा जुन ५ तारिखका दिन विश्वब्यापी रुपमा यो दिवस मनाउने गरिएको छ ।

एक सातादेखि तापक्रममा भएको अत्याधिक वृद्धिका कारण तराई मधेशका केही जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कता तथा सावधानी अपनाउन भनी बुलेटिन नै जारी गरेको छ । अत्यधिक गर्मीका कारण लु लाग्न सक्ने समेत बताइएको छ । गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता हुने जस्ता जोखिमहरु हुन सक्ने भएकोले सतर्कता तथा सावधानी अपनाउन भनिएको छ ।