न्यूज टुडे
राजाविराज, १७ जेठ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने विषय दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बुधबार नवनिर्मित नर्सि· कलेज भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिदै समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरे । अध्यक्ष यादवले नागरिकताको समस्या सदाको लागी समाधान गर्नुपर्नेमा जोड दिए । ‘मुलुकबाट नागरिकता सम्बन्धि समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने विषय दुरभाग्यपूर्ण हो’ उनले भने, ‘यस्तो मुलुक संसारमा कत्तै छैन्, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ–बोलाइ नागरिकता दिन्छन् तर यहाँका नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेकाअध्यक्ष यादवले विगतमा पनि लामो सघर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठुलो नै सघर्ष गर्नु परेको बताए । ‘मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति हामीले सडकदेखि सद्नसम्म लामो समय सघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं’ अध्यक्ष यादवले भने, ‘तर पनि केही नागरिकका सन्तानहरु गैरनागरिक नै छन्, त्यसका लागि पनि ठुलै सघर्ष गर्नुपर्यो । संसदबाट दुई–दुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो ।’ अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकता सम्बन्धि सबै समस्या समाधान हुनेमा आशावादी भएको अध्यक्ष यादवले दावी गरे ।
२०७४ मा सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट नसिं· भवन निर्माण गरिएको थियो । कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तल्ले भवनको अध्यक्ष यादवले बुधबार उद्घाटन गरेका हुन् । नर्सिङ भवनको उदघाटन गर्दै अध्यक्ष यादवले भवन निर्माणले स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन हुने उनले बताए । उनले नर्सिङ कक्षा संचालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सि·को कक्षा सञ्चालन गर्ने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ ।