न्यूज टुडे
राजविराज, २८ बैशाख ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका १० स्थित रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच महिनादेखि पदाधिकारी विहिन हुँदा पुर्वाधार निर्माणको कार्य अलपत्र भएको छ ।
अध्यक्ष र कार्यकारी निर्देशक खाली हुँदा भौतिक संरचना निर्माण सहितको काम अलपत्र परेको हो । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. रोहित पोखरेल पदबाट राजिनामा दिई प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेपछि अर्को अध्यक्ष नियुक्त हुनसकेको छैन। प्रतिष्ठानको कार्यकारी निर्देशक डा. रञ्जितकुमार झा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट काजसरुवा भएर दोलखाको चरिकोट अस्पताल गएपछि चार महिनायता कार्यकारी निर्देशकको पदसमेत रिक्त छ। अध्यक्ष र कार्यकारी निर्देशकको पद रिक्त भएपछि प्रतिष्ठान निर्माणको काम अलपत्र परेको हो।
अहिले गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा रहेको पूर्वाधार तयारी विकास समितिको कार्यालयमा बोर्ड झुन्डिएको छ। संघीय सरकारको मन्त्रिपरिषद्को १६ पुस ०७५ को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। राजविराज नगरपालिका– १० मा बन्ने प्रतिष्ठानलाई ३० वर्षका लागि ६२ बिघा जग्गा नगरपालिकाले उपलब्ध गराएको छरु। कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने बताइएको छ। तर, शिलान्यास भएको २२ महिनामा तारजाली घेराबेरा र डिपिआर निर्माण कार्यबाहेक अगाडि बढ्न सकेको छैन।
अध्यक्ष र कार्यकारी निर्देशकको पद रिक्त भएपछि पाँच महिनादेखि प्रतिष्ठानको काम अलपत्र परेको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको लेखासम्बन्धी काम समेत हेर्दै आए रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय राजविराजमा कार्यरत लेखापाल उमेशकुमार यादवले बताएरु। पाँच महिनादेखि प्रतिष्ठानमा करारमा कार्यरत कम्प्युटर अपरेटर नितुकुमारी दास, सवारीचालक किशोर चौधरी र कार्यालय सहायक गौरीशंकर यादवले तलबसमेत पाएका छैनन् । आर्थिक वर्ष ०७८÷७९ मा प्रतिष्ठानमा कुल ९ करोड ७५ लाख रुपैयाँ बजेट आएको थियो । जसमध्ये १ करोड ९४ लाख ९१ हजार ६ सय १२ रुपैयाँ मात्र खर्च भएको थियो। बाँकी बजेट फिर्ता भएको थियो । खर्च भएकोमध्ये ७२ लाख तीन हजार तीन सय ३० रुपैयाँ प्रतिष्ठानको तारजाली घेराबेराको भुक्तानी दिइएको थियो। यस्तै, वातावरणीय प्रभाव मूल्यांकनमा सात लाख नौ हजार र जोखिमसम्बन्धी अध्ययनका लागि १९ लाख ६७ हजारको भुक्तानी दिइएको थियो ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी विहिन भई सम्पुर्ण कामकाज ठप्प हुदा समेत कसैको ध्यानाकर्षण हुन नसकेको स्थानीयहरु बताउँछन् । चुनावको बेला ठु–ठुलो झुठो आसपास बाँड्ने र जितेर गएपछि जनसरोकारका सवलप्रति चासो नदिंदा राष्ट्रिय गौरवको रुपमा संचालित योजनाको निर्माण कार्य ठप्प हुन पुगेको स्थानीयहरुले जानकारी दिए ।