रामनाथ यादव
राजविराज ११ बैशाख ।
सप्तरीमा निजी विद्यालयहरुले पुस्तक खरिदमा चलाएको कमिशन धन्दाले विद्यार्थीहरु मारमा परेका छन् । संस्थागत विद्यालयहरुले पुस्तक खरिदमा व्यापक चलखेल गरी विद्यार्थीलाई शोषण गरेको खुलासा भएको हो ।
मोटो कमिशन लिएर पुरानो पुस्तकहरु निजी विद्यालयमा लगाउने गरेको स्थानीयले जनाएका छन् । निजी विद्यालयहरुले प्रत्येक वर्ष पुस्तक परिबर्तन गर्दै आएका छन्, एक अभिभावकले भने, जसको कारण अभिभावकहरुलाई किताब खरिद गर्नमा बढी मूल्य तिर्नु परेको छ । निजी विद्यालयहरुको मुल्यसुची गोप्य राखेर पसलहरुसंग कमिशनको खेलमा एउटा पसलले मात्र पुस्तक विक्री गर्ने गरेको अभिभावकहरुले दुखेसो पोखेका छन् । कितावको चर्को मूल्य र विद्यालयमा लिने मासिक शुल्क वृद्धिका कारण मार खेप्दै आएको तिलाठी कोईलाडी गाउँपालिका ७ तोपाका हरि नारायण यादवले दुखेसो पोखे । निजी विद्यालयले कमिशन लिएर पुस्तकको मूल्य वृद्धि दिनानुदिन गर्दै आएको उनले बताए । जुन पुस्तक व्यवसायीले वढी कमिशन दिन्छ, उसैसंग किताव लिने गर्दै आएको छ, उनले भने, पव्लिकेशनवालाहरुले पनि एउटा पसललाई मात्र किताब दिन्छन् ।
बजारमा विक्री नभएका २०७२ साल भन्दा अगाडिको किताबहरु कमिशनको बलमा निजी विद्यालयले सस्तो मुल्यमा पाईने गरेपनि पुस्तक पसललेसंग मिलोमतो गरी विद्यार्थीलाई चर्को मुल्यमा विक्री गरेको अभिभावकहरुको गुनासो छ । प्रत्येक वर्ष शुल्क वढाउने, किताब परिबर्तन गर्ने, शैक्षिक योग्यता कम भएका सस्तो तलबमा अयोग्य शिक्षक राख्ने, अनुमतिपत्र नभएका शिक्षक राख्ने गरेकाले निजी विद्यालयहरुमा दिनप्रतिदिन शिक्षाको गुणस्तर कमजोर हुदै गएको अभिभावकहरुले बताउँछन् ।
व्यवसायीहरुले अभिभावकलाई शोषण गरी निजी विद्यालयलाई किताबको कमिशनमा कम्प्युटर, ल्यावटप लाखौं रकम दिने गरेको अभिभावकको आरोप छ । निजी विद्यालयहरु आ–आफने फाइदा र सुविधाको लागि पुरानो पव्लिकेशनका कितावहरु विद्यालयमा पढाउँदै आएका छन, अभिभावक पशुपती यादव भन्छन्, निजी विद्यालयहरुले जे जति भएपनि शिक्षा एउटै हुनुपर्छ । मुलुकमा तीन वटा सरकार भए पनि शिक्षाको स्तरमा कुनै परिवर्तन ल्याउन सकिएको छैन ।
पव्लिकेशनले २५ प्रतिशत छुट दिएपनि विद्यार्थीहरुहरुलाई नदिई पुस्तक व्यवसायहरुलाई कमिशन दिने गरेको अभिभावकहरुको गुनासो छ । निजी विद्यालयहरुले चरम शोषण गरेपनि सरोकारवाला निकाय भने मौन देखिएका छन् ।