विशिष्ठ व्यक्तिहरुको सवारीका क्रममा सडकमा कायम गरिने अबरोधले सर्वसाधारणले लामो समयसम्म सास्ती ब्यहोर्नु परेको कुरा बारम्बार चर्चामा आईरहन्छ ।
पछिल्लो चरणमा केही दिन अघि मात्र राष्ट्रपतिले संसदका दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेर फर्कने क्रममा बाटोमा अन्यको आवागमन रोकिएका समयमा एक चिकित्सक प्रहरीबाटै कुटिएका छन् । वीर अस्पतालमा कार्यरत ती चिकित्सकले सडकमा साईकल रोकेर उभिएको आरोपमा प्रहरीले निर्घात कुटेपछि त्यसको सर्बत्र आलोचना भईरहेको छ । चिकित्सकहरुले उक्त घटनालाई लिएर आइतबार आकस्मिक बाहेकका उपचार सेवा बहिष्कार गरेपछि विरामीहरुले पनि कठिनाईको सामना गर्नु परेको छ ।
एम्बुलेन्सलाई पनि रोक्ने काम भएको छ । विशिष्ठहरुको सवारीका सम्बन्धमा सरकारले सुरक्षित तथा खुकुलो मापदण्ड बनाएर सर्वसाधारणलाई परिरहेको समस्याप्रति ध्यान पु¥याउन जरुरी छ । सबारीका क्रममा आवागमनमा पर्ने बाधाले गर्दा सर्वसाधारण हैरान हुने अवस्था आउँछ भने त्यसलाई मूकदर्शक भएर बेवास्ता गरिरहन मिल्दैन । सडक अबरुद्ध भएर पाएको हैरानीका कारण ती विशिष्ठ व्यक्तिले पनि आलोचित हुनु परेको छ ।
सरकारले सवारीका सम्बन्धमा व्यवस्था मिलाउन नसकेका कारण विशिष्ठले आलोचित हुनुपर्ने अवस्था सम्म आउँछ भने यो सरकारकै कमजोरी मान्नुपर्ने हुन्छ । सडकमा आवागमन रोकेर मात्र जिम्मेवारी पूरा भएको मान्न सकिन्न । यही क्रममा चिकित्सकले समेत पिटिनु परेको छ । यस प्रकारको निन्दनीय कार्य नहोस् र सर्वसाधारणका समस्याप्रति पनि ध्यान जाओस्, यसकालागि समय सापेक्ष व्यवस्था मिलाउनेतर्फ सरकारको ध्यानाकर्षण जरुरी छ ।