अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्रनमा सप्तरी प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो चरणमा सोमबार पनि यस्ता २२ जना पक्राउ परेका छन् । गत माघ ११ गते पनि सोही संख्यामा फरार अभियुक्त पक्रिन प्रहरी सफल भएको थियो ।्
यसरी फरारहरुलाई पक्रने काममा तिब्रता आयो भने अदालतबाट भएको फैसला कार्यान्वयनमा पनि सघाउ पुग्ने भएका कारण प्रहरीको यो प्रयासलाई सकारात्मक तथा प्रशंसनीय नै मान्नु पर्दछ । अपराध गरेपछि फैसला भएको दण्डसजाय सबैले भोग्नै पर्दछ । कानूनका नजरमा सबै समान भएका कारण कसैलाई पनि यस्तो अवस्थामा छुट दिन मिल्दैन । अपराध न्यूनीकरणमा पनि प्रहरीको यस्तो सक्रियताले सघाउ पुग्ने भएका कारण यसलाई प्रशंसनीय मानिएको हो ।
जसरी फरारहरुको खोजी तथा पक्राउमा प्रहरीको सक्रियता रहने गरेको छ,अपराधका अन्य पक्षमा पनि यसै प्रकारको सक्रियता रहोस् भन्ने जनअपेक्षा रहेका कारण प्रहरीले त्यस तर्फ पनि सक्रियता बढाउन सके समाजमा शान्तिसुरक्षा कायम गर्नमा सफलता मिल्ने विश्वास गर्न सकिन्छ ।
सप्तरीमा कतै चोरी त कतै अन्य प्रकारका आपराधिक घटना हुँदै आएका छन् । बिभिन्न पाटोमा प्रहरीले निगरानी बढाएर सुरक्षाको प्रत्याभूति दिन सक्यो भने प्रहरीको सफलताको मापन पनि यसै आधारमा हुनेछ । अपराध जुनसुकै समयमा पनि हुन सक्ने भएका कारण प्रहरी सक्रियता निरन्तर नै रहनु पर्दछ । प्रहरी मात्रको एकल प्रयास भन्दा पनि जनस्तरबाट समेत अपराध नियन्त्रणमा प्रहरीले समन्वय गर्न सके त्यो अझै फलदायी रहने छ ।