• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
किसानको समस्याप्रति उदासिनता

चितवनमा उत्पादनको उपयुक्त मूल्य नपाएपछि आक्रोशित किसानले सडकमै आफूले उत्पादन गरेको तरकारी फालेर नष्ट गरेका छन् । लागत पनि नउठ्ने गरी कौडीको भाउमा तरकारी बेच्ने बाध्यता आएपछि उनीहरुले सडकमा फालेर विरोध जनाएका हुन् ।

तरकारीको मूल्य नपाउनुको अर्थ मुलुक यसमा आत्मनिर्भर भएको छ भन्ने होईन । अहिले पनि बाहिरबाट धेरै प्रकारका तरकारी आयात गर्नु पर्ने बाध्यता यथावतै छ । तरकारीमा आत्मनिर्भर बन्नकालागि पहिला किसानमा उत्साह जगाउन जरुरी हुन्छ । यसकालागि तरकारीको उचित मूल्य किसानलाई दिलाउनु पर्दछ । गरेको लगानी तथा मिहिनेतको प्रतिफल प्राप्त हुन सकेन भने यसबाट किसान उत्साहित होईन हतोत्साहित हुने अवस्था आउँछ ।

किसानले ब्यहोर्नु परेका समस्या समाधान गर्ने जिम्मेवारी सरकारको हो । तर सरकारले किसानका यस प्रकारका विवशता प्रति सरकारले चासो लिन नसकेका कारण यस्तो अवस्था आएको भनियो भने त्यो अन्यथा नहोला । उत्पादनको मूल्य नपाएको मात्र होईन, रसायनिक मल, सिँचाई, बीऊ जस्ता अत्यावश्यक विषयको पनि अभाव भोग्नु परिरहेको छ । सरकारले नै किसानले उत्पादन गरेको तरकारीको बजारीकरणको व्यवस्था मिलाउन सकेको भए यसरी सडकमा फाल्ने अवस्था आउने थिएन होला ।

सरकारले कृषिको उत्थानकालागि नीति बनाएको छैन भन्ने होईन । तर त्यसको कार्यान्वयनका सबालमा पनि ध्यान पुर्याउन आवश्यक छ । अहिले आफूले सकिनसकी गरेको उत्पादनको उचित मूल्य पाउन नसक्नु पनि एक ठूलो समस्या पनि हो । त्यसैले यस्तो अवस्था भविष्यमा आउन नपाओस् भन्ने सबालमा चासो लिन आवश्यक छ ।