राजविराजको अड्डालाईनको सडक अहिले पुनर्निर्माण गरी चौडा पनि तुल्याईएको छ । सरकारी कार्यालय त्यही क्षेत्रमा परेका कारण प्रायः आवागमन बढी रहने गरेका कारण उक्त सडक निकै व्यस्त पनि रहँदै आएको थियो । सडक फराकिलो बनाएपछि आवागमनमा सहजता होला भन्ने अपेक्षा थियो । तर जति सडक फराकिलो बनाए पनि त्यहाँ बढ्दो अतिक्रमणका कारणले फेरि पनि पुरानै अवस्था निम्तिएको त्यस क्षेत्रमा जाँदा जोसुकैले अनुभूत गर्न सक्दछन् ।
सडक त स्तरीय बनाईयो तर त्यसमाथिको अतिक्रमण पनि बढ्न थालेका कारण जनताले त्यसबाट राहत महशुस गर्न पाएनन् भने बनेको सडकमाथिको लगानी निरर्थक बनेको भन्न सकिन्छ । सडक पेटीमा सामान राखेर बेच्ने, कठघरा ल्याएर राख्ने अनि सडक छेउमा सवारी साधनको पार्किंगका कारणले फेरि पनि सडक साँघुरो बन्दै गएको छ । सरकारी कार्यालयमा आवागमन बढी रहने गरेको मौका पारेर सडक छेउमा नै पसल राख्नेमाथि नियन्त्रण नगरिएका कारणले पसलको संख्या पनि बढ्दै गएको छ ।
यसैगरी सडकका दुबै छेउमा सवारी साधन पार्किंग गर्ने गरिएका कारणले सडक साँघुरो बन्दै गएको हो । मानिसको आवागमन बढी रहने यस्तो व्यस्त सडकमा जथाभावी पार्किंग गर्ने प्रबृत्तिमाथि नियन्त्रण नगर्ने हो भने यसले दुर्घटनाको जोखिम पनि बढ्ने निश्चित छ । सोही सडकको दक्षिणतर्फ राममन्दिर नजिक पूर्वी भागमा सब्जी मण्डी रहेको र त्यहाँ तरकारी लिएर आएका गाडीहरु पार्किंग गरेर राख्ने, सामान लोड अनलोड गर्ने गरिएका कारणले अस्तव्यस्त रहने गरेको छ ।
यस्ता कमजोरी पक्षमा सुधारकालागि त्यहाँ नियमित ट्राफिक प्रहरी राख्ने, जथाभावी पसल राख्नेमाथि रोक लगाउने जस्ता काममा ध्यान दिनुपर्ने आवश्यकता छ ।