• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नीतिबाट निकास खोज

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक विपन्न दलितले केही दिन अघि झुण्डिएर आत्महत्या गरे । ऋणको भासमा डुबेका र त्यसवापतको किस्ता तिर्न नसकेका कारणले छटपटिएका उनले केही उपाय नचल्दा रुखमा झुण्डिएरै आफ्नो ईहलीला समाप्त पारे । विपन्न दलित रामदेव मरिक (डोम)ले यसरी आत्महत्या गरेपछि यो खबर चारैतिर फैलियो । किस्ता वापतको कडा ताकेदा झेल्न नसकेपछि उनले आत्महत्या गरेको परिवारजनबाट जानकारी भएपछि अहिले बिभिन्न व्यक्तिमार्फत उनका परिवारजनलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ । मरिकका परिवारजनलाई क्रियाखर्चपावत सहयोग गर्न उनका घरमै पुगेर भेट गर्ने र सहयोग रकम दिने गरेको कुरा सार्वजनिक भएको हो ।

यस्तो समस्या रामदेवको मात्र होइन, उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । बढी विपन्न दलितहरुको बसोवास रहेको सप्तरीमा रामदेव जस्ता धेरैको परिवार पुस्तौंदेखि गरिबीको दुष्चक्रमा पिल्सिएका छन् । त्यसैले त्यस्ता अति विपन्नकालागि नीति बनाएरै सरकारले अवस्था सुधार्नेतिर सोच्नुपर्ने आवश्यकता छ । दलितमा पनि सबैभन्दा बढी अपहेलित जातका रुपमा मरिक (डोम)लाई लिने गरिन्छ ।

अहिले पनि डोम बस्तीमा गएर जानकारी लिने हो भने अधिकांशको बसोबास ऐलानी पर्ति जग्गामा छ । आफ्नो नाममा एक ईञ्च पनि जग्गा नरहेको कारण अधिकांश सुकुम्वासी नै छन् । सरकारले जनता आवास कार्यक्रम ल्याएको भएपनि निःशुल्क सरकारी घर नपाउने परिवार अहिलेपनि दलित वस्तीमा बग्रेल्ती भेटिने गरेका छन् ।

यो समस्याको निकास दुई चार हजार सहयोग दिएर मात्र निस्कन सक्दैन । बेरोजगारलाई रोजगारी, भूमिहीन सुकुम्वासीलाई जग्गा दिएर बसोबासको व्यवस्था, स्वास्थ्य र शिक्षामा सहज पहुँचको ग्यारेन्टी तथा उनीहरुका लागि अन्य विशेष व्यवस्था मिलाएर भएपनि पिँधमा पारिएका यिनको उत्थानतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।

यस सम्बन्धि नीति नै ल्याएर कार्यान्वयनतर्फ ध्यान दिन सकियो भने मात्र रामदेवको जस्तो बाध्यताको अन्त्य हुन सक्नेछ ।