• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
परम्परालाई नियमितता

सरस्वती पूजाको अवसर पारेर सप्तरीको तिलाठीमा विगत कैयौं वर्षदेखि बिभिन्न कार्यक्रम गरी महोत्सवकै रुपमा मनाउने प्रचलन अहिलेसम्म पनि कायमै छ । एकताका सबैभन्दा बढी शिक्षित रहेको भनि चिनिएको यस गाउँमा कतिपय ऐतिहासिक महत्वका संरचना पनि रहेको पाईन्छ । तर तिनको संरक्षण तर्फ सरकारले यथोचित चासो नलिएका कारण ती विस्तारै लोपोन्मुख हुँदै गएका छन् ।

सरस्वती पूजालाई सप्ताहव्यापी कार्यक्रमका साथ मनाउने गरिएको निकै भएको छ । साहित्यिक कार्यक्रम, नाटक मञ्चन, कुस्ती प्रतियोगिता, सांस्कृतिक कार्यक्रम आयोजना गरेर यो पर्व मनाउने गरिएको छ । बाहिरबाट सहयोग नपाए पनि स्थानीय गाउँलेले आपसमै सहयोग रकम जुटाएर यति विशाल कार्यक्रम गर्नु तिलाठीवासी सबैकालागि गौरवकै कुरा हो ।

आफ्नो गाउँठाउँमा यस प्रकारका कार्यक्रम आयोजना गरिँदा बाहिर रहेकाहरु पनि त्यहाँ पुग्ने गरेका कारण कार्यक्रम अवधिभर निकै रौनकता आउने गरेको छ । बिभिन्न कामले बाहिर रहेका तिलाठीवासी पनि यस समयमा गाउँमा आउने गरेका कारण यस कार्यक्रमले पुनर्मिलनको अवसर नै जुराई दिने गरेको मान्न सकिन्छ । विगतदेखि चलि आएको यो परम्परालाई अहिलेका नयाँ पुस्ताले जीवन्त राखेका कारण भविष्यमा यस पछिकाले पनि यसलाई अघि बढाउनमा चासो राख्ने अपेक्षा लिन सकिन्छ ।

आफ्नो गाउँको प्रसिद्धि दिलाउने यस प्रकारका कार्यक्रमले बाहिर पनि चर्चा पाउने भएका कारण यसलाई जीवन्तता दिने जिम्मेवारी नयाँ पुस्ताकै काँधमा आएको छ । पाका मानिसको अनुभव तथा तिनले थालनी गरेका यस प्रकारका कार्यक्रम प्रति स्थानीय तहबाट पनि सघाउने काम भयो भने त्यसले लामो समयसम्म निरन्तरता पाउने छ ।