• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजनीति कि छलनीति ?

कर्मचारी सहिद प्रभुनारायण यादवको सालिक अनावरण सोमबार सम्पन्न भएको छ । सालिक अनावरणका अवसरमा मन्तव्य व्यक्त गर्दै धेरै जसो वक्ताले उनको स्मरणमा सामाजिक कार्य गर्न सकिए त्यो सच्चा श्रद्धाञ्जली हुने कुरा बताएका छन् ।

प्रस्तावित कर्मचारी सहिद प्रभुनारायण यादव स्मृति प्रतिष्ठानको गठन कार्यलाई पूर्णता दिएर सोही संस्थामार्फत विशेषगरी विपन्न समुदायकालागि लक्षित गरी सामाजिक काम हुन सकून् भन्ने कार्यक्रमका सहभागीहरुबाट धारणा व्यक्त भएको छ । उसैपनि मानवीय सेवा एक अति पवित्र कार्य हो । त्यसमाथि कर्मचारी रहेको अवस्थामा पनि सहिद प्रभुनारायणले सामाजिक सेवालाई पनि एकसाथ अघि बढाएका थिए ।

सामाजिक कार्यमा सहभागिता जनाउनका लागि कसैको करकापले नभई आफ्नै अन्तरआत्माबाट यस्तो भावना जागृत हुनुपर्दछ । भन्नाका लागि त राजनीतिलाई पनि ‘सेवा’ नै भन्ने गरिन्छ । तर यस भनाईलाई सार रुपमा ग्रहण गरेर राजनीति गर्नेहरु भन्दा पनि यसको आडमा आफ्नो दुनो सोझ्याउन चाहनेहरुकै संख्या बढी देखिन थालेको छ ।

‘राजनीतिमा विकृति हावी हुन थाल्यो’ भनी त्यत्तिकै टिप्पणी भएको होइन । देश र जनताको सेवा गर्ने प्रतिवद्धताका साथ राजनीतिमा पदार्पण गर्ने अनि आफ्नो र आफन्तको स्वार्थ पूर्तितर्फ लाग्ने हो भने यो आँखामा छारो हाल्ने मेलो मात्र बन्नेछ । यस्तो प्रवृत्तिलाई ‘छलनीति’ भनियो भने पनि अन्यथा नहोला । पवित्र सेवाभावका लागि कसैमाथि कुनै बन्देज हुँदैन । राजनीतिले त यस सम्बन्धि नीति निर्माण गरेरै कार्यान्वयनको पाठो तर्फ पनि दृष्टि पु¥याउन सके सच्चा जनसेवाको प्रारुप तयार हुनेछ ।