• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जिम्मेवारी बोध होस्

जीविकोपार्जन गर्नकालागि यूवा प्रेमप्रसाद आचार्यले के–के गरेनन् ? वैदेशिक रोजगारीमा जानेदेखि व्यापार व्यवसाय सम्म गरे । घरेलु उद्यममा लागे, तर उल्टै ऋणमा भासिएपछि अन्त्यमा केही सीप नलाग्दा आफैलाई आगो लगाएर प्राण त्यागे । ऋण लिएवापतको किस्ता तिर्न नसक्दा सप्तरीको छिन्नमस्ता–२ का रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरे ।

पुस्तौंदेखि गरिबीको दृष्चक्रमा परेको डोम समुदायका एक प्रतिनिधि पात्र रामदेवले छोराको विवाह गर्दा पनि ऋणै काढ्नु परेको थियो । गत वैशाखमा दुईवटा सहकारी संस्थाबाट ऋण लिएका उनले समयमा किस्ता तिर्न सकेनन् । सकून् पनि कसरी ? आम्दानीको अन्य केही उपाय नरहँदा विहान बेलुकाको हातमुख जोर्न नै धौं–धौं थियो परिक परिवारलाई । जीविकोपार्जनकालागि आफ्नो बरकतले भ्याएसम्म सबैले प्रयास गर्छन् नै । तर जब परिस्थिति नै प्रतिकूल बन्छ, अनेक हण्डर खेप्दा पनि कतैबाट सहयोग र प्रोत्साहन मिल्दैन भने अन्त्यमा जो कोहीले पनि हरेश खाने परिस्थिति आउँछ ।

मुलुकमा आएको ऐतिहासिक परिवर्तनले सबैलाई समेट्ने अपेक्षा गरिएको थियो । मूलतः पिँधमा रहेका वर्गको प्राथमिकता साथ उत्थान गर्ने भनी सरकारको पनि प्रतिवद्धता थियो । अहिले पनि नेताहरुको मुखबाट यस्तो प्रतिवद्धता सुनिदैछ । तर बिडम्बना ! व्यवहारमा चाहीं के अवस्था छ भन्नकालागि प्रेमप्रसाद र रामदेवको नियतिलाई हे¥यो भने अपुग नहोला ।

सबैले उद्यम गरेर बाँच्न पाउनुपर्छ, सबैलाई रोजगारीको आवश्यकता छ । अनि विपन्न तथा वेरोजगारकालागि सरकारले सहारा बनेर तदनुरुपको नीति तथा कार्यक्रम ल्याई व्यवहारमा लागु गरेर देखाउन सक्नुपर्दछ । फोस्रा आवश्वासनले मात्र भोको पेट भरिन्न । गरिबी र वेरोजगारीले अब कसैले पनि प्रेमप्रसाद र रामदेवको जस्तो नियति भोग्नु नपरोस् । सरकारले जिम्मेवारी बोध गर्न जरुरी छ ।