नेपालका बिभिन्न पुख्र्यौली पेशा अहिले संकटमा परेका छन् । बढ्दो आधुनिकताका कारणले कतिपय यस्ता पेशा लोप हुने अवस्थामा छन् । यस्तै अन्य कतिपय पेशामाथि अरु कारणले पनि संकट निम्त्याउने गरेको छ । कुमालेको पेशामा आधुनिकताको प्रभाव बढेको छ ।
प्लाष्टिक तथा अन्य भाँडाका प्रयोगले गर्दा माटाका भाँडाको मागमा गिरावट आएपछि आफूहरुको पेशामा संकट आएको स्वयम् कुमालेकै मुखबाट सुन्न पाईन्छ । यस्तै प्रभाव लुगा सिउने दर्जीको पेशामा पनि परेको छ । कपडा किनेर सिलाउने भन्दा रेडिमेड कपडाको प्रभाव बढ्न थालेपछि अहिले सिलाएर लुगा लगाउने क्रम घटेको छ । यस्ता बाहेक अन्य कारणले पनि परम्परागत पेशामा समस्या आउन थालेको खेखिन्छ । ती मध्येको एक हो मुर्तिकारको पेशा ।
सप्तरीमा अहिले सरस्वतीको मूर्ति बनाउनकालागि केही कलाकार यसमा समर्पित छन् । तर विगतको जस्तो सहज तरिकाले उनीहरुले यसपालि मूर्ति बनाउन पाएनन् । यसको प्रमुख कारण हो, ठाउँको अभाव । पहिले सडक छेउमा रहेका ऐलानी जग्गामा पाल टाँगेर, अस्थायी रुपमा घेरबेर गरेर उनीहरुले एक महिनाको समय लगाएर मूर्ति तयार गर्दै आएका थिए । तर अहिले ती मध्येका अधिकांश जमीन अन्य प्रयोजनमा लागिसकेका कारणले उनीहरुलाई ठाउँको अभाव छ । सरस्वती पूजा आउन अब एक दिन मात्र बाँकी छ । तर मूर्तिकारले यस पटक ठाउँको अभावका कारण जसोतसो केही मूर्ति तयार गरेका त छन् ।
यस्तै किसिमको समस्या रहिरहे भविष्यमा यस पेशामा अझै संकट नआउला भन्न सकिन्न । अस्थायी रुपमा नै भए पनि रोजगारीको अवसर समेत दिने गरेका यस्ता पेशाको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिनु पर्दछ ।