शितलहरको प्रकोप नसकिँदै सप्तरीमा आगलागीका घटना सुरु हुन थालेका छन् । विशेषतः फागुनदेखि आगलागी बढ्ने गरेकोमा यस पटक माघमै आगलागीका घटना हुन थालेका छन् । सुक्खायाम हुनाका साथसाथै हावाहुरी पनि चल्ने गरेका कारणले यति बेला विशेष साबधानी अपनाउन जरुरी भएको छ ।
जिल्लाका बिभिन्न स्थानीय तहहरु सबैले अहिले पनि बारुणयन्त्रको व्यवस्था मिलाउन नसकिरहेका कारण कतिपय स्थानीय तहमा यस्ता घटना भएमा अन्य पालिकाबाट बारुणयन्त्र झिकाएर आगो निभाउनुपर्ने बाध्यता छ । बाहिरबाट मगाईने बारुणयन्त्रको प्रतिक्षामा समय बढी लाग्ने भएका कारण क्षति पनि बढ्ने सम्भावनालाई नकार्न सकिन्न । यस्तो समयमा आफैंले गरेको साबधानी नै यस्ता दुःखद् घटनाबाट जोगिने प्रभावकारी उपाय हुन सक्दछ ।
हावाहुरी चलेका समयमा चुलो नबाल्ने, पानीको स्रोत सुरक्षित राख्ने तथा अन्य सुरक्षाका उपाय अबलम्बन गर्न सकियो भने आगलागीको दुःखद् घटनाबाट जोगिन सकिने छ । स्थानीय तहहरुले सवारी साधन खरिद भन्दा पहिलो प्राथमिकता एम्बुलेन्स तथा बारुणयन्त्र खरिदमा दिन सके यसबाट जनतालाई बढी लाभ मिल्नेमा निश्चित छ । यसका साथै आगलागीबाट जोगिने उपायका बारेमा चेतनामूलक कार्यक्रम गरेर यसमा न्यूनीकरणको पहल आवश्यक देखिन्छ ।
आगलागी भएपछि पीडितलाई राहत दिने परिपाटी छ । तर जीउ ज्यानै धरापमा पर्न सक्ने यस्तो अवस्था नै भरसक आउन नपाओस् भन्नेमा चासो लिनु नै उत्तम पनि हो । यसकालागि सुरक्षाका उपाय अबलम्बन गर्नै पर्ने हुन्छ । स्थानीय तहहरुले यी उपाय अबलम्बनका सम्बन्धमा प्रचारप्रसार गरेर समूदायमा यस प्रकारका दुर्घटनामा कमी ल्याउन प्रयत्नशील रहनु उत्तम हुनेछ ।