माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा यस पटक पनि मनाईएको छ । मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोलगायत त्यस क्रममा सहादत प्राप्त अरु सबै सहिदहरुको सम्मानमा यो दिवस मनाईएको हो ।
मधेश सरकारले उक्त दिन विदा दिने गरेको छ, यस पटक पनि विदा दिईयो । ठाउँ–ठाउँमा बिभिन्न कार्यक्रमका साथ सहिदहरुप्रति सम्मान व्यक्त गरियो । राजधानी काठमाण्डौंमा सभामुख चयनकालागि आयोजित प्रतिनिधिसभाको बैठकमा पनि एक मिनेट मौन धारण गरियो । प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेशीहरुको बलिदानीको पनि सम्मान हुनुपर्ने कुरा उठाएर सदनमै एक मिनेट मौनधारण सुरु गरेपछि अन्यले पनि उठेर उनलाई साथ दिए ।
सहिदले दिएको सहादत आफ्नालागि होईन । मुलुक र जनताकालागि प्राणाहूति दिएका सहिदहरुको सम्मान गरिनै पर्दछ । उनीहरुप्रतिको सम्मान ओठेभक्तिकालागि नभई त्यो व्यवहारमा देखिनु पर्दछ । सत्ताको सिँढी चढ्नकालागि मात्रै सहिदको सम्मानको कुरा उठाईयो अनि व्यवहारमा सहिदले देखेको सपना पूरा गर्ने काम भएन भने त्यो फगत ओठेभक्ति नै हुन जान्छ ।
मुलुक र मुलुकवासी जनताको अवस्था, उनीहरुका पीडालाई केन्द्रमा राखेर त्यसको निबारणकालागि गरिने काम नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हो । मुलुकमा आएको ऐतिहासिक परिवर्तनका पछाडि सहिदको सहादतको लगानी छ । त्यसको सम्मानस्वरुप जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउनै पर्दछ । सबै प्रकारका विभेदको अन्त्य तथा सबैको सम्मान र पहिचानको ग्यारेण्टी व्यवहारमा देखिनु पर्ने अहिलेको आवश्यकता हो ।
सत्ता प्राप्ती वा स्वार्थपूर्तिकालागि सहादतको उपयोग गरिनु हुन्न ।