शम्भु प्रसाद चौधरी
अ.कृष्णासवरन, १९ फागुन ।
सप्तरीको अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर २ चाँदनी चौकमा नवनिर्मित त्रिरत्न गुम्बाको भवन उद्घाटन तथा मूर्ति स्थापना गरिएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादवले बिहीबार एक समारोहका बीच रिवन काटेर गुम्बा उद्घाटन तथा मूर्ति स्थापना गरेको हो ।

गुम्बा उद्घाटन गर्दै साँसद डा. यादवले गुम्बा निर्माणले धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । गुम्बा शिक्षा आर्जन गर्ने पाठशाला भएको भन्दै उनले गुम्बा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल तामाङ लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म डुम्जन तामाङले गुम्बा निर्माण गरेकोमा धन्यवाद दिदै गुम्बाको थप विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ तामाङले लामो संघर्ष र परिश्रमले गुम्बाको भवन निर्माण गरी मूर्ति स्थापना गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले गुम्बाले वडाको विकासमा सहयोग पुग्ने बताए । गुम्बाका बाँकी भौतिक संरचना निर्माण कार्यमा वडा र गाउँपालिका निरन्तर सहयोग गर्न तात्पर रहेको उनले बताए ।

त्रिरत्न गुम्बा ब्याबस्थापन तथा विकास समिति सितापुरका अध्यक्ष खडग बहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा गुम्बाका संस्थापक अध्यक्ष भन्ते भिम बहादुर बल, फुलेश्वरी बौद्ध बिहार गुम्बा फुलबडियाका संयोजक डा.कविरदास चौधरी, नेपाल तामाङ घेदुङका पूर्व केन्द्रिय सदस्य मेख बहादुर बम्जन, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य विष्णु बहादुर थापा मगर, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले शुभकामना मनतब्य व्यक्त गरे ।

यसैगरी मावि सितापुरका विद्यालाय ब्यबस्थापन समितिका अध्यक्ष कुशेश्वर प्रसाद चौधरी, जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष सत्यनारायण चौधरी, धर्मोदय सभा सप्तरीका उपाध्यक्ष माहावीर प्रसाद चौधरी, ईटहर्वा बजार ब्यबस्थापन समिति कलौनी सितापुरका अध्यक्ष मिलन चौधरी, आशिष प्रेस विटरियन चर्च चौफालका एल्डर भिम राई, नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिका ६ का वडा अध्यक्ष अशोक तामाङ लगायतले समेत शुभकामना मनतब्य व्यक्त गरे ।

गुम्बा ब्यबस्थापन तथा विकास समिति सितापुरका सचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यमान तामाङले गरे । कार्यक्रममा बिभिन्न दाता तथा आर्थिक सहयोग गर्ने ब्यक्तित्व तथा संस्थाहरुलाई खादाबाट सम्मान गरिएको थियो । यस अघि स्वर्गीय बल बहादुर घिसिङ, हिरामाया तामाङ, कामु तामाङ र पानमाया तामाङको स्मृतिमा परिवारजनहरुबाट प्रदान गरिएको अमिता बुद्धको मूर्ति चाँदनी चौक, विरेन्द्र बजार झाँकीसहित परिक्रमा गरी गुम्बामा पुगेर स्थापना गरिएको थियोे ।
सप्तरीको राजविराज निवासी टंक बहादुर घिसिङले गुम्बा निर्माणका लागि १ कठ्ठा १६ धुर जग्गा दान गरेका थिए । तत्कालीन जिल्ला विकास समितिको १ लाख ५० हजार, स्वर्गीय साँसद मानपुर चौधरीको संसदीय विकास कोषबाट १ लाख, सप्तरी जिल्लाका तामाङ समुदायबाट संकलित ३ लाख, नेपाल तामाङ घेदुङ सितापुरबाट २५ हजार, विरेन्द्र बजारबाट २५ हजार, अग्निसाईर कृष्णासवरन गाउँपालिकाबाट १५ लाख, बर्तमान संघीय साँसद डा. सुर्यनारायण यादवको संसदीय विकासकोषबाट १५ लाख गरी कूल ३६ लाखको लागतमा गुम्बा निर्माण गरिएको गुम्बा ब्यबस्थापन समितिले जनाएको छ ।