न्यूज टुडे
राजविराज, १८ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिकामा स्थानीय निर्वाचनको तयारीमा राजनीति दलहरु ब्यस्त भएका छन् । सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको घोषणा गरेसँगै दलहरू आन्तरिक तयारीमा जुटेका हुन् ।
निर्वाचन नजिक हुँदैजाँदा दलहरू उम्मेदवार छनौटका साथै चुनावको आन्तरिक तयारीमा जुटेका छन् । सप्तकोशी नगरपालिकामा स्थानीय तहको पूर्व तयारीका लागि राजनीति दलहरुले आफ्ना सांगठनिक गतिविधि थप तिब्र पारेको छ । चुनावी चहलपहलसँगै उम्मेदवार घोषणा गर्नेदेखि प्रमुख–उपप्रमुख पदका आकांक्षीहरुको नाम पनि चर्चामा आउन थालेको छ ।
राजनीतिक पार्टीहरुबाट उम्मेदवार दावी गर्नेहरु बढ्न थालेपछि नगरपालिकामा चुनावी सदगर्मी बढेको छ । सप्तकोशी नगरपालिकामा सत्तारुढ नेकपा एमालेमा चुनावी माहोलसँगसँगै संगठनको गतिविधिले तीव्रता पाएपनि प्रमुख–उपप्रमुखमा उम्मेदवार को हुने भन्ने कुरा अझै अलमलमा छन् । बर्तमान नगरप्रमुख उत्तम कुमार शर्मा र पारस दहालको प्रमुखमा नाम चर्चामा छन् भने उप–प्रमुखमा अझै कसैले दावी प्रस्तुत गरेका छैन । एमाले उम्मेदवार छनौटको कसरतमै रहेको पार्टी श्रोतको भनाई छ ।
यसैगरी नेपाली काँग्रेसबाट युवराज खनाल, अशोक चौधरी, कृष्णा ढकाल, चन्द्र शेखर चौधरी प्रमुखका आकांक्षी रहेका छन् भने रिता कुमारी चौधरी र आशा ढकाल उप–प्रमुखको रुपमा दावेदार छन् । यसैगरी माओवादी केन्द्रबाट रविन्द्र चौधरी, शम्भु बहादुर खड्का, ध्रुव कार्कीले प्रमुखमा दावी गरेका छन् भने उप–प्रमुखमा राज कुमारी चौधरी रहेकी छिन् । यस्तै जनता समाजवादी पार्टीबाट उमेश कुमार यादव, राम कुमार यादव, रामसुन्दर यादव, प्रमुखको आकांक्षी छन् भने द्रोपती चौधरी, अन्जुदेवी साह, सितादेवी साहको नाम उप–प्रमुखमा चर्चामा छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीबाट नारायण आचार्यको नाम प्रमुखको रुपमा चर्चामा रहेको छ भने गिता थापा, सेवा केसि, सकुन्तला राई, रमिला चौधरी उप–प्रमुखको आकाँक्षी छिन् । निर्वाचन आयोगले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने ३० गते मतदानको समय तोकेको छ ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरू आन्तरिक कसरतमा थप सक्रिय भएका छन् । दलहरु चुनावी तालमेल गरेर भएपनि सत्ताकब्जा गर्ने रणनीतिको साथ आफ्ना चुनावी क्रियाकलापलाई बाक्लो बनाउन थालेका छन् । भ्रष्टाचार विरुद्ध ६ बुँदे माग राखी आन्दोलनरत चारदलीय गठबन्धनले स्थानीय निर्वाचनसम्म सहकार्य गरेर चुनावी तालमेल गर्ने सम्भावना रहेको गठबन्धन दलका नेताहरू बताउँछन् ।
सप्तकोशी नगरपालिकामा एमाले र गठबन्धनमा आबद्ध दलबीच प्रतिस्पर्धा हुने राजनैतिक विष्लेशकहरुको ठहर छ । सप्तकोशी नगरपालिकामा चारदलीय गठबन्धन चुनावसम्म कायम रहे नगरपालिकाको प्रमुख–उपप्रमुख गरी ११ वटै वडामा बाजी मार्न सक्ने आँकलन राजनीतिक बिष्लेशकहरुको छ ।