• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरी काँग्रेसको सभापतिमा प्यानलसहित साह र यादवको उम्मेदवारी

सप्तरी काँग्रेसको सभापतिमा प्यानलसहित साह र यादवको उम्मेदवारी

न्यूज टुडे
राजविराज, १८ फागुन ।
नेपाली काँग्रेस सप्तरीको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । राजविराजस्थित औधोगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा बुधबार रामदेव साह र शत्रुधन यादवले प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

संस्थापन पक्षबाट यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने अर्कोपक्षबाट साहले समेत प्यानलसहित उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभु नारायण चौधरी, सतन मण्डल, सह–सचिवमा धनश्याम साह, मनोज खडकाले उम्मेदवारी दिएका छन् ।

यसैगरी अर्को पक्ष साहको प्यानलबाट उपसभापतिमा राम कुमार यादव, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव र सह–सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमले उम्मेदवारी दिएका छन् । फागुन २० गते हुने मतदानका लागि दुबै पक्षका उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएको छ । मतदाता फकाउन र आफ्नो पक्षमा परिणाम ल्याउन उनीहरु कम्मर कसेर लागेका छन् ।

मधेश प्रदेशको अधिबेशन सम्पन्न भए लगत्तै पुस २८ गते तोकिएको जिल्ला अधिबेशन कोरोना संक्रमण उच्च भएपछि स्थगित गरिएको थियो । माघ २५ मा दोस्रो पटक तोकिएको अधिबेशन राष्ट्रिय सभाको निर्वाचनका कारण सारिएको थियोे ।