न्यूज टुडे
राजविराज, १८ फागुन ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदानी चौकमा नवनिर्मित त्रिरत्न गुम्बाको भवन उद्घाटन तथा बुद्धको मूर्ती स्थापना गरिने भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद डा. सुर्य नारायण यादबले बिहीबार गुम्बा उद्घाटन तथा मूर्ति स्थापना गर्ने भएको हो ।
संघीय साँसद डा. सुर्य नारायण यादवको संसदीय विकास कोषबाट १५ लाख, अग्निसाईर कृष्णासवरन गाउँपालिकाबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितिबाट २ लाख ५० हजार, नेपाल तामाङ घेदुङ सितापुरबाट २५ हजार, नेपाल तामाङ घेदुङ विरेन्द्र बजारबाट २५ हजार र जिल्लाका तामाङ समुदायबाट संकलित ३ लाख गरी ३६ लाखको लागतमा निर्माणधिन गुम्वा उद्घाटन र मूर्ति स्थापना साँसद डा. यादवद्वारा गर्ने कार्यक्रम रहेको गुम्बा ब्यबस्थापन समितिका उपाध्यक्ष सूर्यमान तामाङले बताए ।
सप्तरीको राजविराज निवासी टंक बहादुर घिसिङ तामाङले १ कठ्ठा १६ धुर जग्गा गुम्बा निर्माणका लागि दान गरेका थिए । सोही स्थानमा निर्माणधिन गुम्बामा अमिता बुद्धको मूर्ति स्थापना गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । स्वर्गीय बल बहादुर घिसिङ, हिरामाया पाख्रीन, कामु तामाङ र बुहारी पानमाया बम्जनको स्मृतिमा परिवारजनद्वारा प्रद्वत बुद्धको मूर्ती गुम्बामा स्थापना गरिने गुम्बाका अध्यक्ष खडग बहादुर तामाङले जानकारी दिए ।
नेपाल तामाङ लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म डुम्जन लामाको नेतृत्वका ७ जना लामाबाट १२ घण्टे पूजापाठ गरी मूर्ति जगाएर स्थापना गरिने उनले जानकारी दिए । लामाहरुले बुधबार साँझबाट विधिअनुसार पूजापाठ गर्न शुरु गरेको मूर्तिदाता परिवारका सदस्य सुमित्रा तामाङले बताईन् ।