न्यूज टुडे
राजविराज, १७ फागुन ।
सप्तरीको बिभिन्न स्थानमा रहेको शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रीको अवसरमा मंगलबार जिल्लाका बिभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको हो ।

राजविराज नगरपालिकाको शिव मन्दिर, महादेवा गाउँपालिकाको अंकुरी महादेव मन्दिर, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर, रुपनी गाउँपालिकाको शिव शनि धाम लगायतका स्थानमा विहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको स्थानीयहरुले बताएका छन् । शिवालयहरुमा जिल्लाको बिभिन्न स्थानसहित छिमेकी जिल्ला तथा भारतबाट समेत हजारौंको संख्यामा धार्मिक पर्यटकहरु दर्शनका लागि आएको स्थानीयहरुले जानकारी दिए ।

भक्तजनहरुको लागि स्थानीयबासीहरु तथा बिभिन्न संघसंस्थाले बेलपत्र, फुल लगायत पूजा सामाग्री ठाउँ–ठाउँमा निःशुल्क वितरण समेत गरेका छन् । महाशिवरात्रीको अवसरमा सप्तरीको रुपनी गाउँपालिकाको शिव शनि धाममा १२ घण्टे होमजाप तथा साधु सन्तहरुलाई भोजन गराएको शनिदेवका मुख्य पुजारी भुपेन्द्र प्रसाद यादवले बताए ।

भोजन तथा होमजाप कार्यक्रममा नेपालका बिभिन्न स्थानका दर्जनौं साधु सन्तहरुको सहभागिता रहेको भक्तजन जिवछ दासले जानकारी दिए ।
