• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मत्स्य विकास केन्द्र फत्तेपुरमा माछा भुराको माग घटे

मत्स्य विकास केन्द्र फत्तेपुरमा माछा भुराको माग घटे

न्यूज टुडे
राजविराज, १७ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ स्थित रहेको मत्स्य विकास केन्द्र फत्तेपुरमा माछा भुराको माग घटेको छ । कोभिड १९ को महामारीले विगत केही बर्षदेखि माछा भुराको माग घटेको हो ।

मत्स्य विकास केन्द्र फत्तेपुरका केन्द्र प्रमुख भुप नारायण मण्डलले विगत बर्षहरुमा भन्दा माछा भुराको माग घटेको बताए । कोरोना संक्रमण फैलिएसँगै विगत ३ बर्षदेखि माछाको भुरा निर्यातमा कमी भएको उनले बताए । उनले हाल बार्षिक ३५ लाख ७५ हजारको माछाको भुरा बिक्री हुने गरेको जानकारी दिए ।

मत्स्य विकास केन्द्रका प्रमुखसँग कुराकानी गर्दै न्यूज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङ । फोटो ः न्यूज टुडे

तीन बर्ष पहिले माछा भुरा बेच्न धौंधौं पथ्र्यो, केन्द्र प्रमुख मण्डलले भने, कोरोना संक्रमण दर उच्च हुन थालेपछि ब्यापारीहरु पनि कम मात्रामा आउन थाले, उनले थपे त्योबेला माछाको भुरा माग थेग्नलाई कठिनाई हुन्थ्यो । प्रमुख मण्डलका अनुसार सप्तरी, उदयपुर, खोटाङ, भोजपुर, सुनसरी मोरङ्ग, झापा पाँचथर ईलाम, सिरहा लगायतका जिल्लाबाट माछा भुराको माग हुने गरेको छ ।

मत्स्य विकास केन्द्रमा रेहु, नैनी, भाकुर, ग्रासकार्प, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प गरी बिभिन्न प्रजातिको माछाको उत्पादन हुने प्रमुख मण्डलले बताए । ह्यचलिङ्ग, फ्राई, फिङ्गरफाईनिङ्ग, एडभान्स फ्राईङ्गिङ साईजको माछा भुराको बिक्री बितरण गर्दै आएको उनले बताए । केन्द्रमा अन्यको भन्दा कमन माछाको भुरा बढी माग हुने गरेको मण्डलले जानकारी दिए ।

विक्रम सम्वत २०२९ माघ २५ गते स्थापना भएको मत्स्य विकास केन्द्रमा ११ जना कर्मचारीको स्थाई दरबन्दी रहेपनि ४ जना मात्र छन् भने १६ जना करार कर्मचारीहरु कार्यरत छन् । भूमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश मातहातमा रहेको मत्स्य विकास केन्द्र फत्तेपुरमा दरबन्दी अनुसार पदपूर्ति नहुँदा कार्यसम्पादनमा समस्या आउने गरेको केन्द्र प्रमुख मण्डलले बताए ।