न्यूज टुडे
राजविराज, १६ फागुन ।
एमसीसीको विरुद्धमा ८ कम्युनिस्ट पार्टीले सोमबार गरेको नेपाल बन्दको प्रभाव सप्तरीमा शन्यू रहेको छ । नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह, मोहन बैध किरणसहितका ८ कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सप्तरीमा शुन्य रहेको हो ।

सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधान राजमार्गमा निर्वाध रुपमा चलेका छन् भने सबै कलकारखाना, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, विद्यालय, पसलहरु विहानैदेखि खुलेका छन् । सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले सप्तरीमा बन्दको खासै प्रभाव नपरेको बताए ।
सप्तरीमा कुनै प्रकारको बन्दको असर परेको छैन, प्रहरी प्रबक्ता काफ्लेले भने, अन्य दिन जस्तै अवस्था सामान्य रहेको छ, पहिले जस्तै राजमार्गमा सवारी साधन निर्वाध रुपमा संचालनमा छन् । बन्दकर्ताहरुले राजमार्ग, कलकारखाना र पसलहरु संचालनमा अबरोध नगरेपनि सुरक्षा ब्यबस्था भने अन्य दिनभन्दा कडा पारिएको उनले बताए । विहानदेखि नै चौकचौकमा प्रहरी तैनाथ गरिएको तथा सादापोशाकमा प्रहरी परिचालन गरी मोबाइल गस्ती जिल्लाभर खटाएको काफ्लेले जानकारी दिए ।
एससीसी रातारात पारित गरेको भन्दै विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंहको नेकपा मशाल, मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) चित्र बहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपि गजुरेल नेतृत्वको देशभक्त जनतन्त्रिक मोर्चा, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी सुनिल नेतृत्वको नेकपा माओवादीद्वारा नेपाल बन्दको आह्वान गरेका थिए ।