• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीको कंचनरुपमा फागुन २५ गते जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

सप्तरीको कंचनरुपमा फागुन २५ गते जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

न्यूज टुडे
राजविराज, १६ फागुन ।
सप्तरीको कंचनरुप नगरपालिकामा फागुन २५ गते सर्वाधिक राशीको जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सगरमाथामा साहित्य परिषद्को संयोजनमा कंचनरुप नगरपालिकाले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

राजविराजस्थित स्टार होटलमा सोमबार आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २५ गते सर्वाधिक राशीको जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । सगरमाथा साहित्य परिषद्का केन्द्रिय अध्यक्ष मनोहर कुमार पोखरेलले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार नगदसहित प्रथम पुरस्कार र प्रमाण–पत्र पाउने जानकारी दिए । यो जिल्लामै पहिलोपटक सबैभन्दा ठूलो राशीको पुरस्कारसहितको बक्तृत्वकला प्रतियोगिता हुने उनले बताए ।

यसैगरी द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाण–पत्र प्रदान गरिनेछ । शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिशमा कक्षा ९–१२ मा अध्ययनरत माध्यमिक बिद्यालयस्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।

पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा “मेरो सोचाई र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शिर्षकमा व्यवहारिक वक्तृत्वकला हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले आजका विद्यार्थीको मनोभाव बुझ्ने र शिक्षा क्षेत्रको विकासका लागि सुझावहरू संकलन गर्ने मनसायले प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा देखा परेका नगर प्रमुख मिश्रले जनप्रतिनिधिको कुरा भन्दा काम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा, स्वास्थ्य, विकास, सुशासनमा जिल्ला र प्रदेशमै आफ्नो नगरपालिका उत्कृष्ठबाट पुरस्कृत भएकोमा खुशी व्यक्त गरे ।

अन्य स्थानीय तहमा एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि खासगरी प्रमुख र उप–प्रमुखबीच कुटाकुटको स्थिति रहेकोमा आफ्नो नगरपालिकामा बहुमत अन्य पार्टीकै भएपनि आजसम्म सबै निर्णय र कामहरू सर्वसम्मतिमा भइरहेको उदाहरण पेश गरे ।

पार्टी र गुटभन्दा माथि उठेर काम गर्न चाहँदा विकास हुने भन्दै उहाँले असल कामका लागि साझा सोंच र प्रतिबद्धता आवश्यक रहेको बताए ।

शिक्षा, स्वास्थ्य र सुशासन स्थानीय तहसहित तीनै सरकारको उच्च प्राथमिकतामा नपरेसम्म मुलुकको विकास नहुने उनले दावी गरे । सुशासन कायम नभएसम्म दातृ निकायबाट प्राप्त अनुदान सहयोग मागी खाने भाँडो हुने तर विकास नहुने नगर प्रमुख मिश्रले बताए ।

क्षमतावान विद्यार्थी उत्पादनको कमीतर्फ चिन्ता व्यक्त गर्दै नगर प्रमुख मिश्रले कक्षा थपिए पनि स्थानीय तहले योग्य शिक्षक भर्ना गर्न पाउने अवस्था नरहेकोले बिद्यालयमा जनशक्तिको अभाव रहेको बताए । सहमतिमा शिक्षक स्थान्तरण, सरुवा र भर्नामा मात्र सबैको ध्यान केन्द्रित रहेकोमा उनले गुणस्तरीय शिक्षाका लागि आवाज उठनुपर्नेमा जोड दिए ।

परिषद्का सल्लाहकार बैद्यनाथ यादवले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पत्रकारहरूको उपस्थिती रहेको थियो ।