न्यूज टुडे
राजविराज, १५ फागुन ।
स्थानीय तहको निर्वाचनको तयारी स्वारुप राजविराजमा आइतवार मतदाता नामावली अधाविधिक (दावी विरोध समेत) सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजनामा आगामी बैशाख ३० गते तोकिएको निर्वाचनको पूर्व तयारी स्वरुप अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो l
अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले स्थानीय तह निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालयले जिल्लाका १८ वटै स्थानीय तहका मतदाताका लागि मतदाता नामावली अधावधिक कार्याक्रम संचालन गर्न लागेको बताए । उनले यहि फागुन २० गते देखि २६ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटिहरुलाई सच्याउनका लागि मतदाता नेमावली ऐना २०७३को दफा १३,१४,१५,१६ र१८ अनुसार मतदाताहरुले निवेदन दर्ता गराउन सकिने जानकारी दिए ।
जिल्लामा ४ लाख १३ हजार ८ सय ९२ जना मतदाता संख्या रहेको जानकारी गराउँदै मतदाता नामावलीमा केही त्रुटि भए, झुठो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले जानकारी दिए । निर्वाचन अधिकारी जोशीले दावी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि बिभिन्न शिर्षकमा फरकफरक समय तोकिएको बताए । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनको लागि फागुन २० देखि २२ गतेसम्म मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ निर्वाचन अधिकारी जोशीले भने, नागारिकता त्याग गरेकोहरुले आफ्नो मतदाता नामावलीबाट नाम हटाउनका लागि फागुन २० देखि २३ गतेसम्म निबेदन दर्ता गराउन सकिनेछ उनले थपे, कसैले झुठो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको छ भने त्यसको लागि प्रमाण सहित निवेदन दर्ता गराउनु पर्नेछ ।
मतदाता परिचयपत्र नष्ट भएका वा हराएको अबस्थामा यहि फागुन २० गते सम्म सम्बन्धित वडाको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने निर्वाचन अधिकारी जोशीले बताए । कार्यालयमा आएका निवेदन अनुसार जाँचबुझ गरी नाम गर्दा अधिकारीले त्रुटि सच्याउने र र सो विवरण निर्वाचन कार्यालयमा प्रकाशन गर्ने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षता तथा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनता समाजावादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेसहित विभिन्न राजनैतिक दलका प्रतिनिधि, बिभिन्न सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका पदाधिकारी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।