• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

राजगढ गाउँपालिकामा कमिसनको खेलले उपभोक्ता हैरान

राजगढ गाउँपालिकामा कमिसनको खेलले उपभोक्ता हैरान

न्यूज टुडे
राजविराज, १३ फागुन ।
सप्तरीको राजगढ गाउँपालिकामा कमिसनको चलखेलले उपभोक्ता हैरान भएका छन् । गाउँपालिकाबाट आउने विकासीय बजेटमा कमिसन विना कामै नहुने भएपछि उपभोक्तहरु हैरान हुने गरेको हो ।

गाउँपालिकाको बजेटमा कुन किसिमले बजेट छुट्याउँदा कमिसन बढी आउने हो, त्यो मात्र बजेट वडा वा गाउँपालिका छनौट हुने गरेको उपभोक्ताहरु बताउँछन् । एक आर्थिक बर्षमा कम्तिमा २ करोडदेखि साढे ३ करोडको बजेट प्रबाह हुने गरेकोमा बजेट अनुसार काम नहुनुको मुख्य जड कमिसन नै भएको स्थानीय बासीहरुको भनाई छ ।

गाउँपालिका अध्यक्षकै गाउँ नर्घो पछवारी टोलको मूल सडकदेखि रामटोलसम्म ढलानको काम हेर्दा पुग्छ, एक स्थानीयले भने, उक्त योजनाको बजेट ५ लाख रहेकोमा हालसम्म ग्राइभेल गरेर बजेट सक्ने दाउमा गाउँपालिका अध्यक्ष र ठेकेदार छ । राजगढ गाउँपालिकामा ६ वटा वडा छन् । वडामा जाने विकासीय बजेटमा उपभोक्ता समिति गठन गर्नेदेखि कामकाजको रेखदेख गर्ने अधिकार वडा अध्यक्षमै हुन्छ, एक उपभोक्ता समितिका अध्यक्षले भने, उपभोक्ता समितिले गर्ने काम जस्तोसुकै भएपनि सो बजेट बाट १० देखि १५ प्रतिशतसम्म उपभोक्ताबाट लिने गरेका छन् ।

कमिसनका कारण कमजोर संरचनाको अवस्था । फोटो ः न्यूज टुडे

उपभोक्ताले जतिसुकै राम्रो काम गरेपनि चेक लिदा कमिसन दिनुपर्ने बाध्यता रहेको जनप्रतिनिधिहरु बताउँछन् । उपभोक्ताले जतिसुकै राम्रो काम गरेपनि चेक लिनु भन्दा पहिले वडा अध्यक्षलाई कमिसनबापतको रकम बुझाउनु पर्छ, नाम नछाप्ने सर्तमा एक वडा अध्यक्षले भने, हामीलाई त कमिसन उठाउने भरिया बनाईदिएको छ, उनले थपे, गाउँपालिकाको बोर्ड बैठकमा कमिसन हामी नउठाउने अडान लिदा हामीलाई बजेटदेखि पालिकाको कामबाट बञ्चित गर्ने गरेकोले बाध्य भएर कमिसन उठाउने झोले ठेकदार बनाएको छ ।

उपभोक्ता समितिले जनश्रमदान बापतको रकम दिएपनि काम सम्पन्न भएपछि १० देखि २५ प्रतिशत कमिसन लिने गरेको दुखेसो सुनाउँछन् । गाउँपालिका अध्यक्ष प्रमानन्द यादवले कमिसन उठाउने भन्ने कुरा निराधार रहेको बताउँदै उनले उपभोक्ता समितिबाट १० प्रतिशत जनश्रमदान रकम योजना सम्झौता हुनुभन्दा पहिले जम्मा गर्नुपर्ने प्रावधान रहेकोले उपभोक्तले वडा अध्यक्षबाट कमिसन लिने गरेको आरोप लगाउने गरेको प्रतिक्रिया दिए ।