• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कंचनरुप नगरपालिकामा प्रमुख÷उप–प्रमुख पदमा दर्जनौं ब्यक्तिको नाम चर्चामा

कंचनरुप नगरपालिकामा प्रमुख÷उप–प्रमुख पदमा दर्जनौं ब्यक्तिको नाम चर्चामा

न्यूज टुडे
राजविराज, १२ फागुन ।
सप्तरीको कंचनरुप नगरपालिकामा स्थानीय तहको चुनावमा बिभिन्न पार्टीबाट प्रमुख÷ उप–प्रमुख पदमा दर्जनौं ब्यक्तिको नाम चर्चामा छन् । सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै बिभिन्न राजनीति पार्टीबाट उम्मेदवार दावी गर्नेको नाम चर्चामा आउन थालेका छन् ।

चुनाव नजिक हुँदै जाँदा दलहरू उम्मेदवार छनौटका साथै चुनावको आन्तरिक तयारीमा जुटेका छन् । कंचनरुप नगरपालिकामा स्थानीय तहको चुनावको पूर्व तयारीका लागि राजनीति दलहरुले आफ्ना गतिविधिलाई तिब्रता दिएको जनाएका छन् । चुनावी चहलपहलसँगै उम्मेदवार घोषणा गर्नेदेखि प्रमुख÷ उप–प्रमुख पदका आकाँक्षीहरु बढेपछि नगरपालिकामा चुनावी सदगर्मी बढेको छ ।

कंचनरुप नगरपालिकाबाट सत्तारुढ दल नेकपा एमालेबाट बर्तमान नगरप्रमुख वसन्त कुमार मिश्रा, शिव नारायण साह, कलिम मियाँ, बच्चुलाल चौधरी, माधव चौधरी र श्याम पोखरेलको नाम चर्चामा छन् भने उप–प्रमुखमा आश्रा चौधरी, कल्पना चौधरी, ईश्वरी पोखरेल, सविता न्यौपाने आकाँक्षी छिन् ।

यसैगरी नेपाली काँग्रेसबाट ललन गुप्ता नगरप्रमुखको रुपमा छन् भने उप–प्रमुखमा कसैको नाम चर्चामा छैन । बर्तमान नगर उप–प्रमुख निरु पोखरेल माथिलो तह प्रदेश सभा वा प्रतिनिधि सभामा उम्मेदवार बन्ने सम्भावना रहेको छ । यसैगरी माओवादी केन्द्रबाट बन्सी चौधरी, सत्यनारायण चौधरी, मनोज चौधरी र रामविहारी राउत आकाँक्षी छन् भने ममता सरदार र भुवनेश्वरी देवको नाम उप–प्रमुखमा चर्चामा छन् ।

यसैगरी जनता समाजवादी पार्टी नेपालबाट सुदम्बर यादव, भोला पासवान र रामेश्वर कौडगिया प्रमुखको रुपमा आकाँक्षी रहेका छन् भने उप–प्रमुखमा कल्पना चौधरी र संगिता ठाकुरको नाम चर्चामा छन् । यस्तै जनमत पार्टीबाट ईनरदेव कौडगिया प्रमुखको आकाँक्षी छन् भने उप–प्रमुखमा सम्झना मगर छिन् । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने ३० गते मतदानको समय तोकेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु निर्वाचनको आन्तरिक कसरतमा थप सक्रिय भएका छन् । दलहरु गठबन्धन गरेरे भएपनि सत्ताकब्जा गर्ने रणनीतिको साथ आफ्ना चुनावी क्रियाकलापलाई बाक्लो बनाउन थालेका छन् । कन्चनरुप नगरपालिकामा सत्ताको नेतृत्व गरिरहेका एमाले, काँग्रेस, जसपा र माओवादी केन्द्रले बाजी मार्न सक्ने राजनैतिक विषलेशकहरुको दावी छ ।