न्यूज टुडे
राजविराज, ११ फागुन ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुलीमा बुधबार चाईनिज रेल्वे कम्पनीको दर्जनौं सवारी साधन स्थानीयले नियन्त्रणमा लिएका छन् । कंचनपुर–कमला सडक परियोजनाको ठेक्का लिएका कम्पनीको निर्माणका साधानहरु स्थानीय बजारबासीले नियन्त्रण लिएका हुन् ।

कम्पनीले ६ लेनको बाटो बनाउने भन्दै बजार क्षेत्रमा खाली गरी महिनौंसम्म पनि काम अगाडि नबढाउँदा आवतजावत समस्या भएकोले सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको स्थानीयहरु बताएका छन् । बजारमा रहेको नालासहितका भौतिक संरचना तोडफोड गरी खाली गरे, स्थानीय रामनाथ चौधरीले भने, खाली गरेको महिनौंसम्म सडक निर्माण काम थाँती राखे ,उनले थपे, सडक निर्माणको कार्य अलपत्र छोडेपछि बजार क्षेत्र दुर्गन्धित हुनुपुग्यो साथै आवतजावतमा समेत सास्ती खेप्नु परेको छ ।
सडक निर्माणको कार्य यथाशीघ्र गर्नुपर्ने माग राखी आन्दोलित स्थानीयबासीले चाईनिज रेल्वे कम्पनीको डोजर, टिप्पर, ट्याक्टर, रोलर, जिप नियन्त्रणमा लिएर सडक निर्माणको काममा अबरोध गरेको छ । स्थानीयले निर्माणका साधनहरु नियन्त्रणमा लिएपछि सडक निर्माणको कार्यमा खटिएका दर्जनौं मजदुरहरु अलपत्र परेका छन् ।
पूर्व–पश्चिम राजमार्गको कंचनपुर–कमला सडक परियोजनाको निर्माणको जिम्मा चाईनिज रेल्वे कम्पनीले लिएका छन् । कम्पनीमा कमिसनको चलखेल हुँदा बेलाबखत विवाद सिर्जना हुँदै आएको स्थानीयहरु बताउँछन् ।