• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जनमत पार्टीद्वारा जिल्ला निर्वाचन कार्यालय सप्तरीमा बुझाईयो ज्ञापन–पत्र

माग सम्बोधन नगरे निर्वाचनको प्रक्रिया रोक्ने चेतावनी
जनमत पार्टीद्वारा जिल्ला निर्वाचन कार्यालय सप्तरीमा बुझाईयो ज्ञापन–पत्र

न्यूज टुडे
राजविराज, १० फागुन ।
जनमत पार्टी सप्तरीद्वारा मंगलबार बिभिन्न ५ बँुदे माग राखी जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ज्ञापन–पत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको नेतृत्वमा पुगेका पार्टी आबद्ध नेताकार्यकर्ताहरुले निर्वाचन कार्यालय सप्तरीमा ज्ञापन–पत्र बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन–पत्र बुझाउँदै जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साह । फोटो ः न्यूज टुडे

जनमत पार्टीले लगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई समेत सो ज्ञापन–पत्र बुझाएका छन् । जनमत पार्टीले बुझाएको ज्ञापन–पत्रमा जारी किसान आन्दोलनका माग नेपाल सरकारद्वारा सम्बोधन गर्ने ठोस पहल गरेको हुनुपर्ने, निर्वाचन आयोगमा दर्ता रहेको र आयोगबाट चुनाव–चिन्ह पाईसकेका दललाई स्थानीय तहको निर्वाचन २०७९ मा देशभरी नै सोही चुनाव–चिन्ह वितरण गर्नुपर्ने, बहुसंख्यक मतादाताहरुको पुरानो मतदाता परिचयपत्र नष्ट भएको वा हराएको हँुदा सम्पूर्ण मतदाताहरुलाई पुनः मतदाता परिचय–पत्र वितरण गर्नुपर्ने र नागरिकता परिचयपत्र देखाएर पनि मतदान गर्न सक्ने ब्यबस्था गर्नुपर्ने, निर्वाचनको क्रममा निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतले कुनैपनि सत्ताधारी पार्टीहरुको पक्ष नलिई सबैपार्टीहरुसँग समान ब्यबहार गर्दै निष्पक्ष रुपमा निर्णयहरु गर्नुपर्ने माग अघिसारिएको छ ।

जनमत पार्टी सदैव स्वच्छ र निष्पक्ष निर्वाचनको पक्षामा छ, जनमत पार्टी सप्तरीद्वारा बुझाएको ज्ञापन–पत्रमा भनिएको छ, त्यसैले निर्वाचनको क्रममा अरु पार्टीका नेताकार्यकर्ताहरुद्वारा आक्रमण गर्ने गराउने, डरत्रास देखाउने पैसाको लोभलालच देखाउने, स्थानीय जनप्रतिनिधि र प्रशासनद्वारा दिन लगाउने मत खरिद बिक्री गर्ने, मत हाल्न अबरोध सिर्जना गर्ने, मतगणना गडबड गर्नेजस्ता गैरसंवैधानिक गैरकानुनी तथा आन्तरिक क्रियाकलापहरुको जनमत पार्टी घोर भत्सर्ना गर्दछ, ज्ञापन–पत्रमा अगाडि भनिएको छ, सोको लागि जिम्मेवार निगरानी समेत गर्दै आएको छ ।

यस्ता गतिविधि रोक्न र निर्वाचन स्वच्छ तथा निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगले ठोस पहल गर्नुपर्ने तथा निर्वाचन आचारसंहितामा कडाईका साथ लाग्नुपर्ने जनमत पार्टीको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । उपरोक्त मागहरु पूरा नगरी निर्वाचन गरिदा स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन नसक्ने हुँदा सो विभेदपूर्ण निर्वाचनको प्रक्रिया रोक्न बाध्य हुनेछौं ज्ञापन–पत्रमा भनिएको छ ।

जनमत पार्टी सप्तरीद्वारा बुझाएको ज्ञापन–पत्र मन्त्री परिषद् सिंहदरबार काठमाडौ, निर्वाचन आयोग काठमाडौ र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिएको छ ।