न्यूज टुडे
राजविराज, ०९ फागुन ।
सप्तरीको खडक नगरपालिकामा स्थानीय तहको चुनावको सदगर्मी बढेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने घोषणा गरेसँगै दलहरु उम्मेदवार छनौटमा ब्यस्त हुन थालेको हो ।
खडक नगरपालिकामा राजनैतिक दलहरु सर्वसम्मत उम्मेदवार छनौटका साथै स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी जुटेका छन् । उम्मेदवार घोषणा गर्दै एक अर्काबिच गठबन्धन गरेर भएपनि सत्ता कब्जा गर्ने दाउमा दलहरुले आफ्ना गतिविधिलाई तिब्रता दिएका छन् । चुनावी चहलपहलसँगै उम्मेदवारी घोषणादेखि लिएर बिभिन्न पदका लागि आकांक्षीहरु बढेपछि दलहरुलाई उम्मेदवार छनौटमा सकस भएको स्थानीय नेताहरूले जनाएका छन् ।
खडक नगरपालिकाबाट सत्तारुढ दल जनता समाजवादी पार्टीबाट बर्तमान नगरप्रमुख समेत रहेका हिमायू हक प्रमुखको आकांक्षी रहेका छन् भने गत निर्वाचनका निकटतम प्रतिद्वन्दी केन्दुला कुमारी झाले उप–प्रमुखमा उम्मेदवारी दावी गरेकी छिन् । यसैगरी नेपाली काँग्रेसबाट किरण भगत, सिताराम साह र कानन चौधरी प्रमुखको आकांक्षी छन् भने उपाध्यक्षमा बर्तमान नगर उप–प्रमुख यास्मिन सुल्तानलाई अघि सार्ने भएका छन् ।
नेकपा एमालेबाट बृज नारायण साह र ईन्द्र नारायण चौधरीको नाम नगरप्रमुखमा चर्चामा छन् भने उप–प्रमुखमा राधा पासवानले दाबी गरेकी छिन् । यस्तै माओवादी केन्द्रबाट जयप्रकाश चौधरी, प्रथमलाल राम, उचितलाल चौधरीले प्रमुखमा दावी गरेका छन् भने सरस्वती चौधरी, यसोदा गदाल उप–प्रमुखमा चर्चामा छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ननु चौधरी कल्वार प्रमुखका दावेदार छन् भने पिंकी कुमारी साह उप–प्रमुख पक्का छिन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीबाट सत्रुधन प्रसाद साह (अजाद) र पृथ्वीचन्द चौधरीको नाम प्रमुख रहेका छन् भने उप–प्रमुखमा कोही पनि आकांक्षी छैन । नेपाली जनता दलबाट श्रवण चौधरीले प्रमुखमा नाम घोषणा गरेका छन् भने उप–प्रमुखमा कसैको नाम चर्चामा छैन ।
सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् ३० गते मतदानको समय तोकेका छन् । स्थानीय तहको निर्वाचनको घोषणासँगै दलहरु निर्वाचनको आन्तरिक कसरतमा थप क्रियाशिल भएका छन् । खडक नगरपालिकामा सत्तारुढ जनता समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र लोसपा बीच चुनावी प्रतिस्पर्धा हुने भएपनि जसपा र काँग्रेस मध्ये एकले बाजी मार्ने सम्भावना बढी रहेको राजनैतिक विश्लेषकहरुको दावी छ ।