• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तकोशी नगरपालिका तनावग्रस्त, प्रहरी र चार दलीय गठबन्धनका कार्यकर्ता बीच झडप

सप्तकोशी नगरपालिका तनावग्रस्त, प्रहरी र चार दलीय गठबन्धनका कार्यकर्ता बीच झडप

न्यूज टुडे
राजविराज, ०८ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिकामा आइतबार प्रहरी र चार दलीय गठबन्धनका नेताकार्यकर्ता बीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ । नाराजुलुससहित चार दलीय गठबन्धनका नेताकार्यकर्ताले नगरपालिकामा ताला लगाउन पुगेपछि प्रहरीले रोक्दा झडप भएको हो ।

ताला लगाउन प्रहरीले अवरोध गरेपछि गठबन्धनमा आबद्ध नेताकार्यकर्ताले नगरपालिकामा ढुङ्गा मुढा गरी तोडफोड गरेका छन् । गठबन्धनका नेताकार्यकर्ता तोडफोडमा उत्रिएपछि सप्तकोशी नगरपालिका तनावपूर्ण रहेको स्थानीयहरुले बताएका छन् । झडपमा सप्तकोशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी, वडा नम्बर ९ का किसान यादव घाईते भएका छन् । टाउकोमा चोट लागेको वडा अध्यक्ष चौधरी र नाकमा चोट लागेका यादवको फत्तेपुरस्थित पोलिक्लिनिकमा उपचार भईरहेको जनाएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकाले व्यापक अनियमितता गरेको आरोप लगाउँदै पटक–पटक सुचना माग गर्दा उपलब्ध नगएको भन्दै नगरपालिकामा तालाबन्दी गरेका थिए । गठबन्धनका नेताकार्यकर्ताले नगर प्रमुख, प्रमुख, प्रशासकीय अधिकृत कार्यकक्ष, लेखा र प्रविधिक शाखामा लगाएको ताला शुक्रबार नगरपालिकाले आन्दोलनरत् पक्षको सहमति बिनै तोडेका थिए ।

नगरपालिकाले बल प्रयोग गरी ताला तोडेको भन्दै गठबन्धनका नेताकार्यकर्ता आइतबार पुनः तालाबन्दी गर्न नगरपालिका पुगेका थिए । ताला लगाउन प्रहरीले अबरोध उत्पन्न गरेपछि आन्दोनकारीहरु नाराजुलुस लगाउँदै नगरपालिका अगाडि बसेका छन् भने सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

आन्दोलनरत चार दलीय गठबन्धनले महालेखा नियन्त्रण कार्यलयबाट सप्तकोशी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण गराई नगरकार्यपालिका र नगरसभाबाट पारित गरी कानुनी कारबाही सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनुपर्ने, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अंग्रेजी माध्यम कक्षा संचालन खर्च ब्यबस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे मागसहित चार राजनीतिक दलले तालाबन्दी गरेका थिए ।

सप्तकोसी नगरपालिकामा रहेका चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुँदे ज्ञापन–पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको थियो । ११ दिन बितिसक्दा पनि माग पूरा नभएकाले तालाबन्दी गर्दा नगरपालिका बार्ता नगरी आफुखुशी ताला खोलेर द्वन्द्व निम्त्याएको संघर्ष समितिको भनाई छ ।

नगरपालिकामा उत्पन्न परिस्थितिको बारेमा नगर प्रमुख उत्तम कुमार शर्मासँग बुझ्दा आन्दोलनरत् पक्षको माग पूरा गर्न नगरपालिका जहिले पनि तयार रहेको र कार्यपालिका बैठकबाटै निर्णय गरेर आन्दोलनरत् पक्षलाई बार्तामार्फत उत्पन्न समस्याको समाधान गर्न पटक–पटक मौखिक रुपले बोलाइएको र मौखिक रुपले बोलाउँदा समेत नआएपछि लिखित रुपमै सोमबार बिहान ८ बजे बोलाई बार्ताको लागि पत्र पठाउँदा समेत कार्यलयमा ढुङ्गामुडा गरी नियोजित रुपमा कार्यलयमा क्षति पु¥याउनु निन्दनीय रहेको शर्माले बताए ।