न्यूज टुडे
विरेन्द्र बजार, ०८ फागुन ।
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन गरेका छन् । जनता समाजवादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा ईटहर्वा बजार सितापुर कलौनीमा आइतबार आयोजित एक समारोहका बीच मन्त्री साहले गाउँपालिकास्तरीय पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

जसपा गाउँपालिका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले रिवन काटेर पार्टी कार्यालय उद्घाटन गरे । कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले स्थानीय तहको निर्वाचन सरकारले तोकेकै समयमा हुने दावी गरे । उनले पार्टी कार्यालयबाट गाउँपालिकामा आउने सेवाग्राहीसहित सम्पूर्ण जनताको कामकाजमा सहजता ल्याउनु पर्नेमा जोड दिए । पार्टी कार्यालय नेताकार्यकर्ता बस्ने थोलो मात्र हुनु हुँदैन, मन्त्री साहले भने, यहाँबाट जनतालाई सेवा सुविधा मिल्नु आबश्यक छ ।

कार्यालय स्थापनासँगै निर्वाचनको तयारीमा लाग्न नेताकार्यकर्तालाई निर्देशन दिदै मन्त्री साहले सरकारले घोषणा गरेको समयमा नै चुनाव सम्पन्न हुने दाबी गरे । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले जसपा शोषित, उत्पीडित समुदाय र सर्वहारा बर्गको पार्टी भएको बताए । देशमा सबैखाले विभेद अन्त्य गर्न स्थानीय चुनावलाई उपयोग गर्नुपर्नेमा जोड दिदै साँसद यादवले पहिचान, अधिकार, प्रतिनिधित्व र विकासलाई एकसाथ अगाडि बढाउन स्थानीय निर्वाचनमा जसपाका उम्मेदवारलाई सरकारको नेतृत्वमा पु¥याउने अवसरबाट चुक्नु नहुने बताए ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् थारु संघका केन्द्रिय ईन्चार्ज विनोद चौधरीले अधिकार सुनिश्चितताको लागि मधेशी, थारु, मुस्लिम, आदिबासी जनजाति, दलित, महिला एक ठाउँमा गोलबद्ध हुनुपर्नेमा जोड दिए । स्थानीय तहमा ब्याप्त अनियमितता, भ्रष्टाचार र बेतिथिलाई हटाउन र स्थानीय तहको विकास र समृद्धिका लागि जसपाका उम्मेदवारलाई भोट हाल्नुको विकल्प नरहेको उनको भनाई थियो ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले जसपाको पार्टी कार्यालय संचालनले गाउँपालिकाको विकासमा टेवा पुग्ने बिश्वास व्यक्त गरिन् । उनले जसपाको कार्यालय स्थापना हुँदा गाउँपालिकाबासीलाई सेवा र परामर्श लिन सहज हुने बताईन् ।
पार्टी कार्यालय उद्घाटन समारोहमा जसपा पूर्व केन्द्रिय सल्लाहकार चन्देश्वर प्रसाद यादव, जसपा नेता एवम् नेवाःदेयःद्बु मधेश प्रदेश संयोजक दक्ष नारायण श्रेष्ठ, नेकपा एमाले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, माओवादी केन्द्रका जिल्ला सदस्य बेचन मण्डल, जसपा जिल्ला सदस्यहरु रामदेव यादव, अशोक कुमार चौधरी, राम कुमार चौधरी, चित्तरंजन यादव, दाङ जिल्ला सदस्य अशोकानन्द यादव, कंचनरुप नगरपालिका उपाध्यक्ष कल्पना चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष बृजमान तामाङद्वारा संचालित कार्यक्रम स्वागत गाउँपालिका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार साहले गरे ।