न्यूज टुडे
राजविराज, ०६ फागुन ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा एमसीसीको विरुद्ध सप्तरीको कठौनामा शुक्रबार विरोध प्रदर्शन गरेका छन् । पार्टीका जिल्ला सदस्य होकान सिंहको नेतृत्वमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
कठौना चौकबाट बिभिन्न नारा लगाउँदै निकालिएको विरोध जुलुस कठौना बजार परिक्रमा गरी सोही स्थानमा पुगेर सम्पन्न भएको थियो । एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बिभिन्न नारा लगाउँदै नेकपाका नेताकार्यकर्ताले प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, बुद्धिजिवी संगठन सप्तरी संयोजक उज्जवल, दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक आदर्श लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सरकारले एससीसी सांसदमा टेबुल गर्ने प्रयास गरेको विरुद्धमा चन्द नेतृत्वको नेकपासहित ६ दलले आन्दोलन घोषणा गरेका छन् । एमसीसी सम्झौता पास गर्ने कि नगर्ने विषयमा सत्तारुढ दलहरु समेत एकमत छैन ।