न्यूज टुडे
राजविराज, ०६ फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा स्थानीय तहको निर्वाचनमा बिभिन्न दलले आन्तरिक तयारीलाई तिब्रता दिएका छन् । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेलगत्तै दलहरूले आफ्ना गतिविधिलाई तिब्र पारेका हुन् ।
नगरपालिकामा क्रियाशिल दलहरू उमेदवार छनौटका साथै चुनावको परिणाम आफ्नो पक्षामा पार्ने उद्देश्यका साथ आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा आफ्ना दलको प्रचारप्रसार गर्ने तथा उम्मेदवार छनौट गर्ने कसरत शुरु भएको नेतहरु बताउँछन् ।
चुनावको चहलपहल बढेसँगै बिभिन्न पदका लागि आकांक्षीहरुले आफ्नो दावी प्रस्तुत गर्न थालेपछि नगरपालिकामा चुनावी सदगर्मी ह्वात्तै बढेको जनाएको छ । नगरपालिकामा स्थानीय सत्ताको नेतृत्व गर्ने सत्तारुढ नेपाली काँग्रेसबाट दिपेन्द्र चौधरी, प्रभु चौधरी, धनश्याम चौधरी, दिनेश चौधरी प्रमुखको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् भने उप–प्रमुखमा बर्तमान नगर उप–प्रमुख समेत रहेकी कविता कुमारी सरदार र जल्पना देवी सरदारको नाम चर्चामा छ ।
यसैगरी नेकपा एमालेबाट प्रमुखमा ईनरदेव साह र उप–प्रमुखमा केसरी कुमारी चौधरीको नाम पक्का भईसकेको छ । जनता समाजवादी पार्टी नेपालबाट विनोद कुमार चौधरी र कन्तालाल चौधरी नगर प्रमुखमा दावी गरेका छन् भने संसारी देवी चौधरी, निर्मला साह, अम्बिका चौधरी, निर्मला चौधरीको नाम उप–प्रमुख चर्चामा छन् ।
यसैगरी नेकपा माओबादी केन्द्रबाट अनिल कुमार गुप्ता, भगरथी साह, श्रवण चौधरी, दानालाल चौधरी प्रमुखको आकांक्षी छन् भने अनिता चौधरी, सुनिता साह र रिता साहले उप–प्रमुखमा दावी गरेकी छिन् । एकीकृत समाजवादी पार्टीबाट जितेन्द्र प्रसाद गुप्ता प्रमुखको आकाँक्षी छन् भने उप–प्रमुखमा कसैले दावी गरेको छैन ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट चन्द्रकान्त मण्डल, मो. याकुव राईन प्रमुखको रुपमा प्रस्तुत भएका छन् भने उप–प्रमुखमा उर्मिला चौधरीले दावी गरेकी छिन् । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने ३० गते मतदानको समय तोकेको छ । स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि दलहरू निर्वाचनको तयारीका लागि सक्रिय भएका छन् । शम्भुनाथ नगरपालिकामा संघीय सरकारको गठबन्धनलाई निरंतरता दिदै र प्रतिपक्षमा रहेका दलहरुबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।